पर्यटन प्रवर्द्धनका लागी प्याराग्लाइडिङ र म्याराथन 



ओखलढुंगा । 
जिल्लाको पर्यटन विकासका लागी प्याराग्लाइडिङ र म्याराथन दौड प्रतियोगिता हुने भएको छ । ओखलढुंगा पर्यटन विकास समितिको आयोजना र पोकली झरना सेवा समाजको सह आयोजनामा यही फाल्गुन १८ गते  म्याराथन प्रतियोगिताको साथमा विश्वकै साहसिक खेल प्याराग्लाइडिङ समेत उडान गरिने आयोजकले जनाएका छन् । ४२ किलोमिटरको फुल म्याराथन प्रतियोगिता नेपाल सरकारले सूचीकृत गरेको नेपालको सय गन्तव्य स्थानमा पर्न सफल ओखलढुंगाक सबै भन्दा अग्लो डाँडा थोले देम्बा बाट सुरु गरेर नेपालकै दोस्रो अग्लो पोकली झरनामा अन्त्य गरिने आयोजक समितिले जानकारी गराएका छन् ।
म्याराथन प्रतियोगितामा नेपालका ख्यातिप्राप्त धावकहरूको साथमा विभिन्न देशका विदेशी धावकहरूको पनि सहभागिता रहने आयोजक समितिका वाङडा शेर्पाले बताएका छन् । २०७५ साल देखि सुरु गरिएको म्याराथन प्रतियोगिता गत साल कोरोना भाइरस (कोभिड १९ ) का कारण सञ्चालन नगरिएको र यो साल हुने प्रतियोगिता तेस्रो संस्करण रहेको समेत आयोजकले जनाएका छन् ।
यसैगरी सोहि दिन प्याराग्लाइडिङमा विश्वको सबै भन्दा अग्लो स्थानबाट उडेर सबै भन्दा होचो स्थानमा झरेर विश्व रेकर्ड राखेका बाबु सुनुवारको साथमा अन्य साहसिक प्याराग्लाइडरहरुले ३ हजार ३५० मिटरको उचाइमा रहेको थोलेदेम्बा डाँडा बाट उडान गरेर पोकली झरना आसपासमा ल्यान्डिङ गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्