हेलिकोप्टर चार्टर्ड गरेरै पु-याइयो विकटमा ट्रान्सफर्मर



हेटौंडा ।

नेपाली कांग्रेस बकैया गाउँपालिका कार्यसमितिको पहलमा हेलिकोप्टर चार्टर्ड गरी विकट गाउँमा ट्रान्सफर्मर पु¥याइएको छ । क्षेत्रफलमा देशकै ठूला स्थानीय तहमध्ये एक बकैयाका धेरै वडा विकट छन् ।

जसमध्ये बारा जिल्लासँग सीमा जोडिएको ७ नम्बर वडाको दरबारडाँडा अतिविकट क्षेत्र हो । सोही वडाकै माटोकरीबाट करिब ४ घण्टा उकालो हिँडेपछि दरबारडाँडा पुगिन्छ । नेपाली कांग्रेस बकैया गाउँपालिकाद्वारा २ लाख रुपियाँ भाडा तिरेर माउन्टेन नाइन एनएकेबी हेलिकोप्टरमा ट्रान्सफर्मर ल्याइएको नेपाली कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जनले बताउनुभयो ।

दरबारडाँडाका जनता अँध्यारोमै बस्न बाध्य छन् । अब भने केही दिनभित्र गाउँमा बिजुली पुग्छ । पोल र तार लगिसकेका थियौं, ट्रान्सफर्मर पु-याउन नसक्दा बिजुली बाल्न सकेका थिएनौं ।’ –पालिका अध्यक्ष दामोदर खनालले भन्नुभयो । तत्काल प्राविधिक पठाएर गाउँका घर–घरमा बिजुली पु-याउने उहाँको भनाइ छ ।

सडक नपुगेकै कारण दरबारडाँडाका करिब ६० घरधुरी बिजुली नहुँदा हालसम्म अँध्यारोमा बस्न बाध्य छन् । टुकी बाल्दै आएका दरबारडाँडाका स्थानीयको घरमा भने अब बिजुली बल्ने भएको छ । हेलिकोप्टर चार्टर्डको लागत पालिका अध्यक्ष खनालसहित नेपाली कांग्रेस बकैया सभापति दिलबहादुर बोम्जन र नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि ताराचन्द्र बजगाईंले व्यहोर्नुभएको छ ।

दरबारडाँडामा हालसम्म सडक पुग्न सकेको छैन । चुनदेवी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा सडक निर्माण गरेको आरोपमा डिभिजन वन मकवानपुरले पालिका अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा चलाएपछि सडक निर्माण रोकिएको थियो ।

उक्त पालिकामा साविकमा रहेका धियाँल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन गाविस छन् । हाल बकैया गाउँपालिकामा १२ वटा वडा छन् । पालिकाको पाश्र्वचित्रअनुसार पालिकाको जनसंख्या ४६ हजार २ सय ४८ र क्षेत्रफल ४ सय ६० वर्ग किमि छ । पालिकामा अधिकांश तामाङ समुदाय छन् ।

प्रतिक्रिया दिनुहोस्