रियल रोकिँदा एट्लेटिको विजयी



लन्डन, (एजेन्सी) । 

स्पेनिस ला लिगामा शीर्ष टोली रियल मेड्रिड भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिँदा साविक विजेता एट्लेटिको मेड्रिडले गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियललाई गोलरहित बराबरीमा रोक्दै भिल्लारियलले एक एक अंक बाँडेको हो । अर्को खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले गेटाफेलाई उसैको मैदानमा ४–३ गोलले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक खेलमा ५७ प्रतिशत बल पोसेसन राखे पनि रियलले गोल गर्न सकेन । भिल्ला रियलका जेरोनिमो रुल्ली ‘म्यान अफ दि म्याच’ भए । शीर्षस्थानमा रहेको रियलको २४ खेलबाट ५४ अंक छ भने ३६ अंक बनाएको भिल्लारियल छैटौं स्थानमा छ । दोस्रो स्थानमा रहेको सेभियाको ५० अंक छ ।

त्यसैगरी, एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले दुई तथा म्याथिअस कुन्हा र मारियो हर्माेसोले एक एक गोल गरे । गेटाफेका इनेस युनालले दुई तथा बोर्जा मायोरलले एक गोल गरेका थिए । लुइस स्वारेज नवौं मिनेटमा पेनाल्टीमा चुक्दा एट्लेटिको निरास बनेको थियो । तर, १९औं मिनेटमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए ।२७औं मिनेटमा म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए ।

खेलको ३०औं मिनेटमा बोर्जा मायोरलले गोल गर्दै गेटाफेलाई खेलमा फर्काउने प्रयास गरे । ३७औं मिनेटमा इनेस युनालले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४२औं मिनेटमा इनेस युनालले पुनः पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै गेटाफेलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा एन्जल कोरेआले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो ।

विपक्षी मोउरो एरामवारीलाई फल गरेपछि फिलिपे रातो कार्ड पाउँदै बाहिरिएका थिए । तर पनि ८९औं मिनेटमा मारियो हर्माेसोले गोल गर्दै एट्लेटिकोलाई रोचक जित दिलाए । एट्लेटिकोका मार्कोस लोरेन्टे म्यान अफ दि म्याच भए ।जितसँगै एट्लेटिकोले २३ खेलबाट ३९ अंक बनाएको छ । पराजित गेटाफे २५ अंक सहित १५औं स्थानमा छ । अर्को खेलमा ओसासुनाले रायो भालेकानोलाई ३–० गोलले पराजित ग¥यो । सेल्टा भिगो र काडिजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्