बार्यनको खराब हार



बर्लिन, (एजेन्सी) । 

जर्मन लिग बुन्डेसलिगा फुटबल प्रतियोगितामा लिग लिडर बार्यन म्युनिखले यो सिजनकै सबैभन्दा खराब हार बेहोरेको छ ।

शनिबार राति भएको सिजनको २२औं साताको खेलमा बार्यन म्युनिखलाई १४औं स्थानको टिम भीएफएल बोचुमले ४–१ को फराकिलो गोल अन्तरको लज्जास्पद हारको स्वाद चखाएको हो । बार्यनले यस सिजन घरेलु लिगमा सबैभन्दा खराब हार भोगेको खेल यही बनेको छ ।

यसअघि, बायर्नले लिगको १०औं स्थानभन्दा तलको टिमसँग चार गोल बेहोरेर हारेको थिएन । च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को खेल खेल्नुअघिको खेल बार्यनका लागि निकै खराब नतिजा बन्यो ।उक्त खेलमा बार्यनको फ्रन्ट लाइनमा रोबर्ट लेवान्डोस्की, किङ्सले कोमान, लिरोए साने, थोमस मुलर र सर्जी गेनाब्री सहितका खेलाडी शुरुआतबाटै उत्रिएका थिए । बार्यनले खेलमा अपेक्षा अनुसार नै नवौं मिनेटमै अग्रता पनि लिएको थियो । स्टार फरवार्ड लेवान्डोस्कीले टिमका लागि गोलको खाता खोलेका थिए ।

तर, त्यसपछि बार्यन निरीह नै देखियो र लगातार चार गोल बहो¥यो । घरेलु टोली बोचुमले एक गोलले पछि परेको अवस्थामा लिग लिडरविरुद्ध गोलको वर्षा नै गरेको थियो । बोचुमले पहिलो हाफमै चार गोल गरेको थियो । उसले केवल ३० मिनेटको बीचमा लगातार चार गोल गरेर बार्यनलाई ठूलो झट्का दिएको थियो ।

बार्यनले रक्षापंक्तिमा लगातार गल्ती गर्दा घरेलु टोलीले पटक–पटक त्यसको फाइदा उठाउन सफल भयो । बोचुमका लागि पहिलो गोल १४औं मिनेटमा क्रिस्टोफर एन्टवीले गरेर खेल १–१ को बराबरी बनाए । त्यसपछि ३८औं मिनेटमा बोचुमका लागि जुर्गेन लोकाडियले पेनाल्टीमार्फत् गोल गरेर टिमलाई अग्रता दिलाए ।

त्यसपछि ४०औं मिनेटमा क्रिस्टिएन गाम्बाओले अर्को गोल गरेपछि बार्यन ३–१ ले पछि पर्न गयो । आफ्नो घरमा आक्रामक रूपमा उत्रिएको बोचुम त्यत्तिमै अडिएन । खेलको ४४औं मिनेटमै चौथो गोल पनि ग-यो । यसपटक गेर्टी होलमानले गोल गरेपछि बोचुमले पहिलो हाफमै ४–१ को सुविधाजनक अग्रता बनाएको थियो ।

पहिलो हाफमा चार गोल गरेर कमब्याक गरेको बोचुमले दोस्रो हाफमा भने एक गोल पनि गर्न सकेन । खेलको ७५औं मिनेटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो गोल गरेर गोलअन्तर ४–२ मा छोट्याएका थिए । तर, त्यसपछि बाँकी समयमा बार्यनले दुई गोल गर्न नसक्दा आफ्नो घरमा बोचुमले लिग लिडर बार्यनलाई ४–२ ले स्तब्ध बनायो । यो जितपछि बोचुमले २२ खेलपछि २८ अंक जोडेको छ । पराजित बार्यनको भने २२ खेलपछि ५२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्