दुवै खेलमा गोल भएन



काठमाडौं  ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत् आइतबार भएका खेलमा कुनै गोल हुन सकेन । दशरथ रंगशालामा पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका हुन् । दोस्रो खेलमा पनि पहिलो खेलकै अनुशरण हुँदा संकटा क्लब र नेपाल एपीएफ क्लबले गोलरहित बराबरीमै चित्त बुझाए ।

उक्त निराशाजनक नतिजापछि एनआरटीले १० खेलबाट १४ अंक जोडेको छ । त्यस्तै हिमालयन शेर्पाले १२ अंक बनाएको छ । यसैगरी, संकटाले १० खेलबाट १५ अंक जोड्दा एपीएफले त्यति नै खेलबाट ११ अंक जोडेको छ । संकटा र सातदोबाटोको समान अंक भए पनि गोलभिन्नताको आधारमा संकटा पाँचाैँ स्थानमा उक्लियो । अघिल्लो दिन पुलिसलाई हराएर पाँचौँ स्थानमा उक्लिएको सातदोबाटो भने एक स्थान तल झरेको छ ।

विभागीय टिम एपीएफको अपराजेय यात्रामा यो लगातार सातौं खेल हो । टिमले शुरुवाती तीन खेलमा हार बेहोरेको थियो । त्यसपछि, चौथो खेलमा थ्रीस्टार क्लबविरुद्ध अंक जोडेपछि एपीएफले अहिलेसम्म हार व्यहोरेको छैन । संकटाविरुद्ध गोलको मौका पाए पनि गोल भने गर्न सकेन । खेलमा जापानी गोलकिपर युया कुरियामाको प्रदर्शनले गर्दा पनि एपीएफ जोगिएको थियो ।

११औं मिनेटमा फोडे फोफानाको प्रहारलाई कुरियामाले डाइभ दिँदै बचाएका थिए । त्यस्तै, ६७औं मिनेटमा ग्लोरीको क्रसमा उत्तम राईको हेडरलाई कुरियामाले बचाए । ८०औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा प्रहारमा कप्तान रवि सिलवालले हेड गरेको बलनजिकै रहेको फोफानातिर गएको थियो । फोफानाले क्लोज रेन्जमा गरेको प्रहार सीधै कुरियामाको हातमा पुगेको थियो ।

एपीएफका लागि ७४औं मिनेटमा आभास लामिछानेले निरज बस्नेतबाट बल खोस्दै संकटाको डिबक्समा पु¥याएर गोल गर्ने मौका गुमाएका थिए । उनले वान भर्सेस वानको अवस्थामा पनि फितलो प्रहार गरिदिँदा संकटाका गोलकिपर राजा बाबु थापाले बचाएका थिए । संकटाको लागि पनि गोलकिपर राजा बाबुले उत्कृष्ट प्रदर्शन देखाए । संकटाले जारी लिगमा लगातार आठ खेलमा अपराजेय यात्रा गरेको थियो । तर, नवौं खेलमा संकटा थ्रीस्टारसँग १–० ले हारेको थियो ।

(तस्वीरः उजोल डंगोल)

प्रतिक्रिया दिनुहोस्