आठ वर्षमा २० प्रतिशत मात्रै पुलको काम सम्पन्न



डोटी ।

सुन्दा पनि अचम्म लाग्न सक्छ– डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधिन मोटर चल्ने पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ भन्दा ।

तर, तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने भनेर सम्झौता गरिएको भए पनि ठेकेदारको लापरबाहीका कारण उक्त पुलको अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै सम्पन्न भएको छ । २०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त पुलमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कुलपातेले जनाएको छ ।

२०४९ सालमा निर्माणकार्य शुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्ने उक्त पुल निर्माण गर्न २०७१ साल असार २९ गते सम्झौता भएको थियो । तीनवर्षे पहिलो ठेक्का सम्झौता अवधि सकिएर चारपटक म्याद थप भइसक्दा समेत काम सम्पन्न नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका स्थानीयवासी तथा समाजवादीका नेता इन्द्र बलायरले बताउनुभयो । ‘पुल बनाउन दिएको समय सकिइसक्यो, पटक–पटक म्याद थप्दा पनि पुलको काम गर्दैन, सम्बन्धित निकाय पनि वास्ता गर्दैनन्’, उहाँले भन्नुभयो– ‘काम नगर्नेलाई कारबाही गरिनुपर्छ ।’

हालको सम्झौताअनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत्र मसान्तसम्म रहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड २० लाख रुपियाँ लागतमा निर्माण हुने भनिएको ३ सय २० मिटर लामो उक्त आरसीसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर योगेन्द्रबहादुर अधिकारी बताउनुहुन्छ । ठेकेदारले कोरोनाको सङ्क्रमणका कारण कामदार नपाएको बाहना बनाउँदै काम नगरेको उहाँको कथन छ ।

डिभिजन सडक कार्यालयका अनुसार पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभी कम्पनीले हालसम्म ३ करोड २१ लाख भुक्तानी लिइसकेको छ । पुल निर्माणकार्य शुरु भएपछि आफूहरु पनि सडक सञ्जालमा जोडिने आसामा बसेका यहाँका स्थानीयवासी निरास हुन थालेका अर्का स्थानीय रामबहादुर धामीले बताउनुभयो । ‘पुल निर्माण होला र राजमार्गसँग जोडिएला भन्ने हाम्रा सपना सबै खरानी भए, पुल बन्ने छाँटकाँट देखिएन ।’ –उहाँले भन्नुभयो ।

उता पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभीले फाउन्डेसनमा समस्या भएका कारण काममा ढिलो भएको जिकिर गर्दै आएको छ । निर्माता कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका नगर प्रमुख भएका कारण पनि उहाँलाई कसैले पनि कारबाही गर्न नसकेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्