महिलामाथि अनेकौँ हिंसा : आउँदैनन् घरबाहिर घटना 



  • खुशीमाया गुरुङ

अध्यारो कोठा । दुई जना मुस्किलले अट्ने एउटा सानो खाट, त्यही खाटमा पुराना अनि कतै च्यातिएका र उद्रिएका कपडाको भद्रगोल । भान्छा र विच्छौना एउटै कोठामा हुँदा सबै भद्रगोल । लमजुङ सदरमुकाम बेसी हरमा भाडा तिरेर बस्दै आएको अब निर्मला (नाम परिवर्तन) लाई अब सात वर्ष भन्दा बढी हुन लाग्यो ।

पाँच महिनाको छोरी छोडेर रोजगारीका निम्ति बिदेसिएका निर्मलाका श्रीमान् ७ वर्ष सम्म घर फर्किएका छैनन् । विदेश गएको करिब एक वर्षसम्म सम्पर्कमा रहेका श्रीमान् त्यसपछि सम्पर्कमा पनि नआए पछि निर्मलाको जीवन कष्टपूर्ण बन्दै गयो ।

अचेल उनलाई बिहान बेलुका छाक टार्नै मुस्किल छ । छोरी हुर्किएर ८ वर्ष पुगी सकी, एकातिर श्रीमान् टाढिएको पिडा, अर्कोतिर छोरीको उमेर बढेसँगै पूरा गर्नु पर्ने उनको इच्छा र आवश्यकता । श्रीमान् आजसम्म आफ्नो श्रीमती, छोरी सम्झेर न त नेपाल आए न उनीहरूको भरण पोषणका लागि रकम नै पठाए ।

‘शुरुको वर्ष श्रीमानको फोन पनि आउँथ्यो, पैसा पनि पठाउनु भयो, तर झण्डै ६ वर्ष भयो न फोन आएको छ न पैसा’निर्मलाले सुनाइन । सदरमुकाममा भाडा तिरेर बस्नु, छोरीलाई पढाउनु, उमेर बढेसँगै छोरीको इच्छा र आवश्यकता अनुसार पुर्याउदै जानु बाध्यता कम्ती सकस छैन निर्मलालाई । जसोतसो दुःख सास्ती गरेर छोरी हुर्काउँदै आएकी निर्मलालाई अर्को बज्रपात पर्‍यो ।

धेरै वर्षपछि विदेशबाट श्रीमानको फोन आयो, निकै खुशी हुँदै फोन उठाएकी निर्मला छाँगाबाट खसेजस्तै भइन । श्रीमानको फोनबाट अरू कुनै महिला बोलिन । ‘म उहाँलाई माया गर्छु, तपाईँको छोरीलाई पनि म पाल्छु, ।’ निर्मलाको श्रीमानले अर्कै बिहेको तयारी गरेका रहेछन् । ‘धेरै वर्ष फोन नआए पनि मान्छे आउने आस थियो । आए पछि दुःख सुख साटिन्छ भन्ने थियो, तर उहाँ त धेरै टाढा भई सक्नु भएछ’ उनले सुनाइन ।

निर्मलाले फेरि आफ्ना थप व्यथा सुनाइन ‘म धेरै रोए, एक्लै रोए । म मेरो श्रीमानलाई धेरै माया गर्थे, उहाँको मन म तिरै फर्किन्छ कि भन्ने आशाले फोन गरी रहन्थे ।’  अन्ततः श्रीमान् स्वदेश फकिएर अर्को बिहे गरी सकेछन् ।’

छोरीको भविष्य के होला भनेर तत्कालै निर्मला कानुनी उपचारमा जान सकिनन् । शुरुका दिनहरूमा सासू ससुराले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे । तर पछिल्लो दिनहरूमा सासू ससुराको पनि मन परिवर्तन भएको छ । ‘अहिले न श्रीमानको साथ न त घर परिवारकै साथ, जसोतसो छोरीकै लागि बाच्दै छु ।’, आँखा भरी आँसु पार्दै उनले भनिन् ।

लमजुङ सदरमुकाम बेसी हरमा बस्दै आएकी २७ बर्सिया दन्ती (नाम परिवर्तन) को पनि पिडा कम छैन । सात वर्ष अघि सडक दुर्घटनामा श्रीमान् गुमाएकी दन्ती आफ्नो श्रीमान् नहुँदा पारिवारिक पिडामा नै परेकी हुन् ।

दमन्तीका दुई सन्तान छन् । श्रीमान् हुँदा परिवारमा छोरी जस्ती माया पाएकी दन्ती श्रीमान् गुमाए पछि  भने आफ्नै सास ससुराको हेलाको पात्र बनेकी छन् । आफ्ना छोराछोरीको राम्रो भविष्य बनाउने ठुलो सपना भए पनि घर तर्फबाट केही सहयोग नपाएपछि उनी अहिले माइती घरमा बस्दै आएकी छन् ।

उमेर नपुग्दै विवाह त्यस लगत्तै दुई सन्तान र अकल्पनीय समयमा श्रीमान् गुमाउँदाको पिडाले उनको खुसी लुटियो । त्यती मात्रै होइन घर तर्फबाट पाउनु पर्ने अंश पनि नपाएपछि अहिले बिचल्लीमा परेको दमन्ती बताउँछिन् । सन्तानका निम्ति अंश माग्दासमेत घरपरिवारबाट इन्कार हुँदै आए पछि न्यायको निम्ति कानुनी प्रक्रिया शुरु गर्न लागेको दमन्तीको भनाई छ । ‘मेरो त कर्म नै यस्तै रैछ, तर यि छोरा छोरीका निम्ति पनि न्याय माग्नु परेको छ’ उनी भन्छिन् ‘सायद कानुन अन्धो छैन होला ।’

हाम्रो समाजमा यस्ता घटना धेरै छन् । यो त एक प्रतिनिधि घटना मात्रै हो । कतिपय घटना परिवार र आफन्तको दबाबमा घर परिवारमै सीमित राखिन्छन् । कतिपय घटना समाजले नै मिलाउने दबाउने प्रयास गर्छ ।

जिल्ला प्रहरी कार्यालयको चालु आर्थिक वर्षको तथ्यांक मात्रै हेर्ने हो भने बहुविवाह सम्बन्धी जम्मा दुई वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै ४४ वटा घरेलु हिंसाका उजुरी परेका छन् । जसमध्ये ३० महिला हिंसा र १४ वटा ठाडो उजुरी हुन् । महिला हिंसाको घटनाबारेमा महिला, बृद्ध बृद्धा तथा बालबालिका केन्द्रले हेर्ने र ठाडो उजुरीका मुद्दाहरू प्रहरीको मुद्दा शाखाबाट हेर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदिस रेग्मीले बताए ।

प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा महिला हिंसा सम्बन्धी एक सय २१ वटा उजुरी परेको थियो । त्यसमध्ये ६० वटा महिला हिंसा र २९ वटा ठाडो उजुरी हुन् । आर्थिक वर्ष ०७६/७७ मा जम्मा ७९ हिंसाका उजुरी परेका थिए । जसमध्ये ६१ घरेलु हिंसा र १८ वटा ठाडो उजुरी हुन् ।

जिल्लामा ठाडो उजुरी भन्दा घरेलु हिंसाको उजुरी दिनेको सङ्ख्यामा धेरै छ । गत वर्ष परेका घरेलु हिंसाका उजुरी मध्ये ६० वटाको मिलापत्र भएको प्रहरी तथ्याङ्कले देखाएको छ । सो बाहेकका २४ वटा अदालती प्रक्रियामा गएका छन् ।

प्रहरीमा आएका उजुरीको तथ्याङ्कले हिंसा घटना सीमित छन् भन्न सकिन्न । कतिपयले घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने मानसिकताले पनि घरेलु हिंसा घटनाहरू बाहिर नल्याउने तथा प्रहरीमा नआउने गरेको पाइन्छ । प्रहरी कार्यालयमा परेका हिंसा उजुरी मध्ये मादक पदार्थ सेवन गरी गाली गलौच तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा, बहु-विवाह लगायतका घटना देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्