महिला भलिबल टिम सम्मान हुने



काठमाडौं ।

नेपाल खेलकुद महासंघ (नेकोस) को सातौं केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । उक्त बैठकमा विधान संशोधन, महाधिवेशन, आगामी कार्य योजनाबारे बुँदागत निर्णय गरियो । ती निर्णयअनुसार आगामी कार्य योजनामा खेलाडी र खेल प्राविधिकको लागि घाइते भएको खण्डमा नेकोसले उपचार्थ सहजीकरण गर्ने भनिएको छ ।

यस्तै, बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको विजेता टिमका खेलाडीलाई आगामी फागुन ७ गते नगदसहित बधाई तथा सम्मान गर्ने पनि आगामी कार्ययोजनामा समेटिएको छ । नेपालको राष्ट्रिय महिला भलिबल टिमले उक्त प्रतियोगितामा उपाधि जितेको हो । उक्त कार्य योजनामा वर्षभरि गरेको प्रदर्शनको आधारमा खेलका सबै खाले विधाहरुमा उत्कृष्ट हुने खेलकर्मीहरूको छनोट गरी नगदसहित सम्मान गर्ने बुँदा रहेको छ ।

हाल राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्यौलताले निम्त्याएको समस्या समाधान गर्न नेकोसले नेपाल सरकार तथा न्यायालयको ध्यानाकर्षण गरेको पनि नेकोसले बैठकमा उल्लेख गरेको छ । गत कात्तिकमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई पदबाट हटाएको थियो । यो कार्यविरुद्ध सिलवालले अदालतमा रिट दायर गरेपछि परिषद्को सदस्य सचिव हालको लागि खालिको अवस्था रहको छ । यसले गर्दा कुनै पनि प्रतियोगिताबारे योजना बनाउन पनि सकिरहेको छैन । यसमा खेल संघका तीन संस्थाले पनि चिन्ता जनाएर गत बिहीबार जुलुस निकालेका थिए ।

यसैगरी, नेकोसले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्न मिति घोषणा गर्न पनि माग राखेको छ । हाल बेइजिङमा जारी हिउँदे ओलम्पिकमा नेपालको सहभागिता हुन नसकेकोमा पूर्व तयारी नहुनु नै कारण नेकोसले ठहर गरेको छ । खेल र खेलाडीको हकहित, अधिकार र सामाजिक सुरक्षाका लागि सरकार र सम्बन्धित निकायसँग नेकोसले जोडदार माग गरेको पनि छ ।

प्रतिक्रिया दिनुहोस्