विश्वकप खेलका सबै टिकट तुरुन्तै बिक्री



नयाँ दिल्ली, (एजेन्सी) ।

फुटबलमा अर्जेन्टिना र ब्राजिलको खेललाई समर्थकहरूले बडो उत्सुकताका साथ हेर्न आतुर गर्छन् । त्यस्तै, नै क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल हेर्न पनि समर्थकले त्यति नै उत्सुकता देखाउँछन् । समर्थकले यी दुईबीचको खेल हेर्न कुनै पनि मौका छुटाउँदैनन् । अबको ८ महिनापछि यी दुई प्रतिद्वन्द्वी राष्ट्रबीच टी २० विश्वकपमा खेल हुँदैछ ।

उक्त टी–२० विश्वकप आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ । भारत र पाकिस्तानबीचको यो खेल २३ अक्टोबरमा मेलबर्न क्रिकेट मैदानमा हुदैछ । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टिकट बेच्न शुरु गरिसकेको छ । सबै टिकट केही घण्टामै बिक्री भएको छ । आईसीसी विश्वकपको अहिलेसम्म दुई लाख टिकट बिक्री भएको जनायो । जसमा, ६० हजार टिकट केवल भारत र पाकिस्तानबीचको खेलको लागि बिक्री भयो । त्यस्तै विश्वकपको फाइनल खेल तथा इंग्ल्यान्ड र न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको समूह चरणका खेलका टिकट पनि धेरै बिक्री भए ।

भारत र पाकिस्तानबीच टी–२० विश्वकपमा ६ पटक प्रतिस्पर्धा भइसकेको छ । यस विश्वकपमा यी दुई राष्ट्रबीच सातौं पटक टी–२० विश्वकपमा भेट हुनेछ । अहिलेसम्म भारतले ६ मा ५ पटक पाकिस्तानलाई हराएको छ । पाकिस्तानले गत वर्ष यूएईमा भएको टी–२० विश्वकपमा भारतलाई १० विकेटले हराएको हो । पाकिस्तानको यो भारतमाथि विश्वकप इतिहासमा पहिलो जित पनि हो ।

अस्ट्रेलियामा पहिलोपटक २० ओभरको विश्वकप हुँदैछ । उक्त विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । ग्रुप २ मा अन्य राष्ट्रमा दक्षिण अफ्रिका, बंगलादेश र दुई क्वालिफायर रहनेछन् । ग्रुप १ मा आयोजक अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड र अफगानिस्तानसहित दुई क्वालिफायर रहनेछन् । हरेक राष्ट्रले समूहमा ५/५ खेल खेल्नेछ । ग्लोबल क्वालिफायर खेल यही फेबु्रअरीदेखि शुरु हुँदैछ, जसमा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ ।

यसपटक पनि गत संस्करणमा झैं वेस्ट इन्डिज र श्रीलंका शीर्ष ८ बाहिर रहेकाले क्वालिफाइङ खेल खेल्नुपर्ने भएको छ । विश्व टी–२० मा शीर्ष आठमा रहेका राष्ट्रले सीधै सुपर १२ मा स्थान बनाए । तर, शीर्ष ८ तल रहेका राष्ट्रले क्वालिफाइङ खेल्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्