सेनेगल अफ्रिका कपको च्याम्पियन



लन्डन, (एजेन्सी) ।

सेनेगल पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको फाइनल खेलमा सर्वाधिक सफल टोली इजिप्टलाई हराउँदै सेनेगलले पहिलोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि उचालेको हो । मोहमद सलाहको इजिप्टलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै सेनेगल पहिलोपटक यस प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । सेनेगलले तेस्रोपटक फाइनल खेल्दै पहिलोपटक च्याम्पियन बन्न सफल भयो । सन् २००२ मा क्यामरुनसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको सेनेगल सन् २०१९ मा अल्जेरियासँग १–० ले पराजित हुँदै उपाधिबाट वञ्चित बन्नुपरेको थियो । तर, यसपटक भने सेनेगल च्याम्पियन बन्न सफल भयो ।

खेलको निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गरे । तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए । इजिप्टका जिजो र मारवान हान्डीले गोल गर्न सफल हुँदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुकेका थिए ।

त्यसअघि, ओम्निस्पोर्ट्स पउल याओन्डेमा भएको प्रतिस्पर्धात्मक खेलको सातौँ मिनेटमा नै साडियो माने पेनाल्टीमा चुक्दा सेनेगलले अग्रता लिने अवसर खेर फालेको थियो । सालिओउ सिसलाई पेनाल्टी बक्समा मोहम्मेद एब्डेलमोनेमले फउल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी प्रदान गरेको थियो । तर, मानेको पेनाल्टीलाई इजिप्टका गोलरक्षक मोहमेद एवाउगवालले बचाएका थिए । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल टाई ब्रेकरमा लम्बिएको थियो । जसमा सेनेगलले बाजी मार्न सफल भयो ।

यता, सेनेगलसँगको हारसँगै इजिप्टको आठौंपटक च्याम्पियन बन्ने सपना अधुरै रह्यो । इजिप्टले १० पटक फाइनल खेल्दा सातपटक उपाधि जितेको छ । सन् १९५७, १९५९, १९८६, १९९८, २००६, २००८ र २०१० मा च्याम्पियन बन्न सफल इजिप्ट १९६२, २०१७ र यसपटक उपाधिबाट वञ्चित बन्यो ।

प्रतिक्रिया दिनुहोस्