झापाकी कृपा पहिलो सारेगमप लिटिल च्याम्स

0
Shares

बाल गायक गायिकाहरूको टेलिभिजन गायन रियालिटी शो सारेगमप लिटिल च्याम्स नेपालको पहिलो संस्करणमा झापा बिर्तामोडकी कृपा पौडेलले उपाधि चुमेकी छन्। शनिबार राति सम्पन्न अन्तिम स्पर्धामा कृपाले दर्शक भोटिङका आधारमा अन्तिम चार सह–प्रतिस्पर्धीलाई पछाडि छाड्दै सारेगमपको उपाधि चुमेकी हुन्। उनले उपाधि चुमेबापत नगद १५ लाख रुपियाँ पुरस्कार पाएकी छन्।

त्यसैगरी, झापा मेचीनगरकी रोशा फुयाँल फस्ट रनर्सअप चुनिएकी छन् भने भारत सिलगुडीका आदित्य विश्वकर्मा सेकेन्ड रनर्सअप भए। उनीहरूले पुरस्कारबापत क्रमशः तीन लाख र दुई लाख रुपियाँ प्राप्त गरेका थिए।

कृपा, रोशा, र आदित्यका साथ पर्वतका अरुण सुनार र भक्तपुरकी अभिज्ञा घिमिरे अन्तिम प्रतिस्पर्धासम्म पुग्न सफल भएका थिए। सारेगमप लिटिल च्याम्सका सबै अन्तिम पाँच प्रतिस्पर्धीलाई गीत रेकर्ड तथा म्युजिक भिडियोको अवसरका साथ नेपालका र वर्ल्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था गरिने आयोजकले जनाएको छ। ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी शोमा न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेका थिए।

Skip This