बायर्न म्युनिखको रोमाञ्चक जित



लन्डन, (एजेन्सी) । 

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले रोमाञ्चक जितको नतिजा निकालेको छ । बायर्नले घरेलु मैदानमा आरबी लेइप्जिगलाई ३–२ गोलअन्तरले हराएको हो । बायर्नको जितमा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । लेइप्जिगका आन्द्रे सिल्भा र क्रिस्टोफोर एनकुकुले गोल गरे पनि आत्मघाती गोल गर्न पुग्दा पराजित हुन पुग्यो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १२औं मिनेटमा थोमस मुलरको गोलबाट बायर्नले शुरुवाती अग्रता लिएको थियो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक गुलाक्सीले बचाए पनि रिवाउन्डका मुलरले सहजै गोल गरेका थिए ।खेलको २७औं मिनेटमा आन्द्र सिल्भाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले कोनराड लेइमेरको पासमा कमजोर

डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए । ३६औं मिनेटमा मुलरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । खेलको ४४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । किङ्सले कोमानको क्रसमा लेवान्डोस्कीले हेडमार्फत सुन्दर गोल गरेका थिए । ५३औं मिनेटमा क्रिस्टोफोर एनकुकुले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । लेइमेरको पासमा एनकुुकुले अफसाइड बिट ट्याप गर्दै वान भर्सेस वानको अवस्थामा बिना कुनै गल्ती गोल गरेका थिए ।

खेलको ५८औं मिनेटमा जोस्को जिभार्डीओलले आत्मघाती गोल गरेपछि बायर्न खेलमा ३–२ ले अघि बढ्यो । सर्ज जिनाब्रीको क्रसलाई बचाउने क्रममा बलले आफ्नै पोस्टको दिशा लिदा गोलरक्षक गुलाक्सी पनि झुक्किन पुगे । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो । यो जितसँगै बायर्नले यो सिजनको पनि उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शीर्षस्थानमा रहेको बायर्नको २१ खेलबाट ५२ अंक छ । पराजित लाइप्जिगको ३१ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्