भारतलाई पहिलो खेलमा जित



नयाँ दिल्ली, (एजेन्सी) ।

भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा ६ विकेटको जित निकालेको छ ।आइतबार अहमदाबादमा भएको खेलमा भारतले वेस्ट इन्डिजले दिएको १ सय ७७ रनको लक्ष्य ४ विकेटको क्षतिमा भेटाएको हो । उक्त लक्ष्य पाउन केवल २८ ओभर खेलेको थियो । योसँगै भारतले ३ खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता पनि लियो । टिमका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६० रन योगदान दिएका थिए ।

पहिले ब्याटिङ गर्ने क्रममा रोहित र इशान किशनले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टिमलाई शानदार शुरुवात दिलाए । तर, रोहित आउट भएपछि भारतले १ सय १६ रनसम्म पुग्दा थप तीन विकेट गुमाएको थियो । त्यसमा भारतका पूर्व कप्तान विराट कोहली पनि सामेल थिए । उनी फेरि एकपटक फ्लप भए ।

८ रन मात्रै बनाएका कोहलीले उनको घरेलु भूमिमा एकदिवसीय खेलमा व्यक्तिगत ५ हजार रन पूरा गरेका थिए । उनले ९६ इनिङमा ५ हजार रन पूरा गर्दै सचिन तेन्दुलकरको कीर्तिमान पनि भंग गरेका छन् । सचिनले आफ्नो घरेलु मैदानमा त्यति नै रन पूरा गर्न १ सय २१ इनिङ खेल्नु परेको थियो ।

माथिल्लो चार विकेट लिएपछि वेस्ट इन्डिजले खेलमा फर्कने संकेत गरेको थियो । तर, लक्ष्य साधारण भएको हुँदा क्रिजमा आएका सूर्यकुमार यादव र दीपक हूडाले वेस्ट इन्डिजलाई खेलमा फर्कने कुनै अवसर दिएनन् । उनीहरूले पाँचौं विकेटका लागि ६२ रनको अर्धशतकीय साझेदारी गर्दै भारतलाई जित दिलाएका थिए । यादव ३४ रन र पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका हूडा २६ रनमा नटआउट रहे ।
यसअघि, पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३.५ ओभरमा १ सय ७६ रनको सामान्य योगफल बनाएको थियो । टिमका माथिल्लो क्रमका खेलाडीको प्रदर्शन निकै कमजोर भएको थियो ।

ओपनरद्वय शाइ होप र ब्रेन्डान किंग सस्तै आउट भएपछि नै भारतको भ्रमणमा रहेको वेस्ट इन्डिज दवावमा पुगेको थियो । होप ८ रनमा मोहम्मद सिराजको बलमा बोल्ड भए भने किंग १३ रन जोडेर आउट भए । सिराजले एकदिवसीय करियरमा पहिलो विकेट लिएका हुन् ।यसपछि डेरेन ब्राभो, शामारा बु्रक्स, निकोलास पूरण र किरोन पोलार्ड पनि छिटै आउट भए । विस्फोटक ब्याटिङको लागि परिचित दुई ब्याटर पूरण (१८ रन) र पोलार्ड (०) युजवेन्द्र चहलको एकै ओभरमा आउट हुनु पनि टिमको लागि दुर्भाग्य भएको थियो । ७९ रनको लागि ७ विकेट गुमिसकेको अवस्थामा टिमका पूर्व कप्तान जेसन होल्डरले टिमलाई सम्मानजनक स्कोरमा पु-याएका थिए ।

होल्डरले टिमका लागि सर्वाधिक ५७ रनको योगदान दिएका थिए । फाबियन एलेनले होल्डरलाई दरो साथ दिँदा वेस्ट इन्डिजको लागि आठौं विकेटका लागि ७८ रनको साझेदारी भएको थियो । होल्डरले अप्ठ्यारो अवस्थामा पनि ४ छक्का प्रहार गर्न सफल भए भने एलेनले २९ रनको योगदान दिए । भारतको तर्फबाट युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिँदा वासिंगटन सुन्दरले ३ विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्