आयोजक क्यामरुन अफ्रिका कपमा तेस्रो



लन्डन  ।

आयोजक क्यामरुनले अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हासिल गरेको छ ।बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै क्यामरुनले प्रतियोगिताको तेस्रो स्थान हासिल गरेको हो ।

शनिबार राति भएको निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा क्यामरुनका भिन्सेन्ट एब्डोउबाकर, निकोलस नागमालेउ, कार्ल टोको इकम्वी, पिएरे कुन्डे र एम्ब्रोइस ओयोंगो विटोलोले गोल गरे । बुर्किना फासोका इसा कावोरे, सोमाइला ओउटारा स्टिभ यागोले गोल गर्न सफल भए । इब्राहिमा ब्लाटी टाउरेले गोल गर्न सकेनन् ।

त्यसअघि, निर्धारित समयको खेलमा बुर्किनाले फासोले तीन गोलको अग्रता लिनका बावजुद त्यसलाई जोगाउन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो । खेलको २४औं मिनेटमा स्टिभ यागोले गोल गर्दै बुर्किना फासोलाई शुरुवाती अग्रता दिलाए । खेलको ४३औं मिनेटमा आन्द्रे ओनानाले आत्मघाती गोल गरेपछि क्यामरुन २–० ले पछि परेको थियो ।

४९औं मिनेटमा डिजव्रिल ओउटाराले गोल गरेपछि बुर्किना फासो जिततर्फ अग्रसर बनेको थियो । तर, बुर्किना फासोले त्यो अग्रतालाई जोगाउन सकेन । ७१औं मिनेटमा स्टेफेन वाहोकेनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।खेलको ८५औं मिनेटमा भिन्सेन्ट एब्डोउबकारले गोल गर्दै क्यामरुनलाई खेलमा फर्कने संकेत दिए ।

८७औं मिनेटमा भिन्सेन्ट एब्डोउबकारले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउँदै खेललाई टाइब्रेकरमा लम्ब्याए । उनी ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्