ख्यातिप्राप्त गायिका लताप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सम्मान



काठमाडौं ।

विद्याकी देवी सरस्वतीकी वरदपुत्री ख्यातिप्राप्त भारतीय पाश्र्व गायिका लता मंगेशकरको सरस्वती पूजाकै दिन भएको निधनको खबरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुख समाचार बनाएर कलाप्रति सम्मान दर्साएका छन् ।

विश्व प्रसिद्व समाचार संस्था बीबीसीले आइतबारको विभिन्न बुलेटिनमा रसियाले युक्रेनमाथि गर्न लागेको आक्रमणको समाचारलाई समेत पन्छाएर लताको निधनको खबरलाई प्रमुख समाचार बनाएको छ । बीबीसीले विभिन्न संस्करणको अनलाइन सेवामा समेत लताको निधनलाई दिनभर महत्वका दिएको छ ।

आप्mनो मखमली स्वर लहरीका कारण विश्वमाझ ख्याति कमाउन सफल लताको ९२ वर्षमा भएको निधनको समाचारलाई अर्को विश्वप्रसिद्ध समाचार एजेन्सी रोयटर्सले पनि उत्तिकै महत्व दिएको छ । रोयटर्सले उहाँलाई ‘नाइटेंगल’को उपनाम दिँदै समाचार बनाएको छ । आठ दशक लामो गायन पेसामा हिन्दी र नेपालीसँगै ३६ भाषाका ३० हजार बढी गीत गाएकी लतालाई ‘मेलोडी क्विन’ को उपमा दिँदै अर्को अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले पनि उहाँको निधनका कारण भारत शोकमा छ भन्दै समाचार सम्प्रेषण गरेको छ । सीएनएनले समेत सोही आशयको समाचार सम्प्रेषण गरेको छ ।

विश्वभर कोरोना संक्रमण फैलिन थालेपछि स्वास्थ्य सुरक्षामा ध्यान दिँदै दुई वर्षयता निवासबाट बाहिर ननिस्केकी लतालाई घरमा काम गर्ने एक कर्मचारीबाट संक्रमण सरेको थियो । कोरोनाका कारण निमोनिया भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । २९ दिनसम्म आईसीयूमा उपचारत लताको स्वास्थ्यमा पछिल्लो समय सुधार आएको पनि अस्पतालले जनाएको थियो । तर आइतबार बिहान अचानक उहाँको निधन भएको थियो ।

सधैंजसो सरस्वतीको प्रतिमूर्ति प्रतीत हुने सेतो पहिरनमा देखिने लताको सरस्वती पूजाकै दिन निधन भएपछि भारतका प्रधानमन्त्री, रक्षामन्त्री, अन्य मन्त्री, विभिन्न दलका नेता, बलिउडकर्मी, संगीतकर्मी तथा शुभचिन्तकका साथमा नेपालका प्रधानमन्त्री, कलाकर्मी, संगीतकर्मी र संगीतप्रेमीसहित विश्वभरका विभिन्न क्षेत्रका मानिसले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

स्वरका लागि सानैदेखि वृद्ध उमेरसम्म पनि सरस्वतीको वरदान पाएको सावित गरेकी लताको निधनमा भारतको सरकारले दुई दिन राजकीय शोकको घोषणा नै गरेको छ । भारत सरकारले आज सोमबारसम्म राष्ट्रिय ध्वजा झुकाउने र कुनै पनि प्रकारको आधिकारिक मनोरञ्जन कार्यक्रम समेत नगर्ने निर्णय गरेको छ । लताको पार्थिव शरीरको आइतबार नै राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्