गेटाफेको सानदार जित



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगाको २३औं राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलअन्तरले हरायो । एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गरे । गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । इनेसले मौरो अरमबारीको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । २९औं मिनेटमा इनेसले माथियस ओलिभेराको पासमा गोल गर्दै गेटाफेको अग्रता दोब्बर बनाए ।

गेटाफेले अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा थपेको थियो । कार्लेसले बोर्जा मायोरलको पासमा गोल गर्दै गेटाफेलाई सानदार जित दिलाए । बल पोसेसनमा अब्बल रहेपनि पाहुना टोली लिभान्तेको गोल फर्काउने प्रयास सफल भएन । ५९ प्रतिशत बल पोसेसन राखेको लिभान्तेले खेलभर ११ वटा पोस्ट प्रहार गरेपनि गेटाफेको रक्षापंक्ति चिर्न सकेन । गेटाफेका इनेस उनाल ‘म्यान अफ दि म्याच’ भए । जितसँगै २३ खेल सकेको गेटाफेको २५ अंक छ । पराजित लिभान्तेमाथि रेलिगेसनको दबाब थपिएको छ ।
अन्तिममा रहेको लिभान्तेको २२ खेलबाट ११ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्