युनाइटेड एफए कपबाट बाहिरियो



लन्डन, (एजेन्सी) ।

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो राउन्डबाटै बाहिरिएको छ । च्याम्पियनसिप क्लब मिडल्सव्रगसँग सडनडेथमा पराजित हुँदै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो राउन्डबाटै बाहिरिएको हो । युनाइटेड घरेलु मैदानमा मिडल्सव्रगसँग सडनडेथमा ८–७ गोलअन्तरले पराजित भएको हो । निर्धारित समयसम्म १–१ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो ।

पेनाल्टीमा मिडल्सव्रगका प्याट्रिक म्याकनेएर, मार्टिन पाएरो, जोनाथन हाउसन, मार्कुस टाभेरनिएर र सोउलेमाने बाम्वाले गोल गरे । युनाइटेडका जुआन माटा, ह्यारी मगाएर, फ्रेड, क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेसले गोल गरे । सडनडेथमा मिडल्सव्रगका डुनकान वाटमोर, डाइल फ्राइ र लि पेल्टिएरले गोल गरे । युनाइटेडका स्कट म्याकटोमिने र डिएगो डालोटले गोल गर्दा एन्थोनी इलांगाको अन्तिम प्रहार गोल हुन सकेन ।

त्यसअघि ओल्ड ट्राफोर्डमा शुक्रबार राति भएको खेलमा दुवै टोलीले गोलका लागि केहि राम्रा प्रयासहरु गरेका थिए । खेलको दोस्रो मिनेटमै घरेलु टोलीले अग्रता लिने सुवर्ण अवसर खेर फालेको थियो । जेडान सान्चोको चिप प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो । २०औं मिनेटमा रोनाल्डोले पेनाल्टी चुकाएका थिए । पल पोग्वालाई डिजकेस्टिलले पेनाल्टी बक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो । तर, रोनाल्डोले प्रहार गरेको उक्त पेनाल्टी पोस्टनजिकैबाट थोरै बाहिरिएको थियो ।

खेलको २५औं मिनेटमा जेडान सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । उनले ब्रुनो फर्नान्डेसको पासमा दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए । ६४औं मिनेटमा माट क्रुक्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । डुनकान वाटमोरले क्रस गर्नुअघि नै ह्यान्ड हुन पुगेपनि रेफ्रीले कुनै प्रतिक्रिया नजनाउँदा माटले सहजै फिनिस गरेका थिए । भिएआरले पनि एक्सिडेन्टल ह्यान्ड रहेको भन्दै गोललाई मान्यता प्रदान गर्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुदै सडनडेथसम्म लम्विएको थियो ।

प्रतिक्रिया दिनुहोस्