सिमसारको संरक्षणमा नेपाली सेना 



सञ्जय कार्की रौतहट ।

पर्यटकिय गन्तव्य बोकेको चन्द्रपुर–८ मा रहेको सिमसारको सफाइ अभियानमा नेपाली सेना जुटेको छ । जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको समन्वयमा सिमसारको सफाइ अभियानको थालनी गरिएको जनाइएको छ ।

संरक्षणको अभावमा जलकुम्भी झारले ढाकेर कुरूप बनेको सिमसारको सफाइमा नेपाली सेनाले निरन्तर कार्य गर्दै आइरहेको छ । नेपाली सेनाको बीरदल गण गौरले सैनिक नागरिक सम्बन्ध अभिवृद्धि तथा प्रकृति पर्यावरण र चुरे संरक्षण कार्यक्रम अन्तर्गत सिमसारको सफाइमा उदारता देखाएको हो । उचित संरक्षणको अभावमा सिमसार क्षेत्र कुरूप मात्र हैन अतिक्रमणको चपेटामा समेत परेको छ । २५ वर्ष अघि १४ हेक्टर क्षेत्रफल ओगटेको सिमसार क्षेत्र यतिखेर अतिक्रमणले गर्दा ६ दशमलव ६७ हेक्टर क्षेत्रफलमा सीमित बनेको छ ।

१५ फिट गहिरो र १ किलोमिटर भन्दा बढी लम्बाई र २ सय मिटर भन्दा बढी चौडाइ क्षेत्र ओगेटोको सिमसारमा जलकुम्भी झारले ढाक्नुका साथै बाताबरणमा समेत असर पुर्‍याएको अवस्थामा नेपाली सेनाले सफाइ थालनी गरेको हो । जितिया पर्वमा समेत सो सिमसार बाट थारु समुदायले माछा मार्ने कार्य गर्दै आएकोमा जलकुम्भी झार र फोहोरले गर्दा सो कार्य समेत बन्द भएको छ ।

नेपाली सेनाले करिब दश दिन भित्र सक्ने लक्ष्यका साथ सिमसार क्षेत्र सफाइमा जुटेको बीरदल गणका प्रमुख सेनानी राजन दाहालले बताउनु भयो । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा रहेको सो सिमसारमा दुर्लभ चराहरू सारस, पानी हाँस, झिल्ल र साइबेरिएन चराहरू देखिने गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले इतिहास बोकेको सिमसार तालको संरक्षणमा सबै जुट्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली सेनाले सफाइ गरेपछि सिमसार क्षेत्र विकास निमार्णमा नगरपालिकाले योजनाबद्ध कार्य गर्ने बताउनु भयो ।

सदियौ देखिको पुरातात्त्विक महत्त्व रहेको सो सिमसार क्षेत्रको १२ कटा जमिन व्यक्तिको नाममा दर्ता भैसकेको छ । चन्द्रपुर नगरपालिकाले उक्त जमिन खारेजीको लागि सरकारी तथा सार्वजनिक जग्गा संरक्षण आयोग सिंहदबारमा निवेदन दिए पनि अझै सुनवाइ नभएको जनाइएको छ । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले सिमसार क्षेत्रको सफाइ पछि आन्तरिक र बाह्य पर्यटकीय सम्भावना रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्