अस्ट्रेलिया पराजित, भारत फाइनलमा



लन्डन, (एजेन्सी) ।

अस्ट्रेलियालाई ९६ रनले हराउँदै भारत यू १९ विश्वकप क्रिकेटको फाइनलमा लगातार चौथोपटक पुगेको छ । वेस्ट इन्डिजको एन्टिगामा भएको सेमिफाइनल खेलमा भारतले ५ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो । टिमका कप्तान यश धुलले १ सय १० रनको योगदान दिँदा उपकप्तान शेख राशीदले ९४ रन बनाए ।

३७/२ को स्कोर भएपछि उनीहरूले तेस्रो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेर टिमलाई बलियो स्कोरमा पुर्याएका थिए । भारतको सामना फाइनलमा इंग्ल्यान्डसँग हुनेछ । इंग्ल्यान्डले पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई हराएको थियो ।

जवाफमा ४२ ओभरमा १ सय ९४ रन जोडेर अस्ट्रेलियाको पूरै टिम पभेलियन फर्केको थियो । अस्ट्रेलियाली टिम १७ औंओभरमा १ विकेटको क्षतिमा ७१ रनमा रहेर राम्रो स्थितिमा रहेको थियो । तर, यसपछि ६ विकेट गुमेर ७ विकेटको नोक्सानीमा १ सय २५ रनमा खुम्चिएको थियो । ती ६ विकेट स्पिनरका शिकार भएका थिए । टिमका लागि लाच्लान शाले सर्वाधिक ५१ रन बनाए भने कोरी मिलर ३८ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्