बालबालिकालाई दोस्रो मात्रा खोप

0
Shares

बैतडी ।

बैतडीका बालबालिकालाई मंगलबारदेखि मोडर्ना खोपको दोस्रो डोज दिन शुरु गरिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा खोप दिन थालिएको हो ।

यसअघि गएको महिना मोडर्ना खोपको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिइन थालेएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरीश भट्टले जानकारी दिनुभयो । खोप अभियान सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहमा आवश्यक खोप पठाइसकिएको उहाँको कथन छ । गत महिना यहाँका १२ देखि १७ वर्ष उमेर समूहका ३२ हजार बढी बालबालिकालाई खोपको पहिलो मात्रा दिइएको थियो ।

खोपको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिने थालिएको छ । यसका लागि पालिकाहरुले सम्बन्धित विद्यालयसँग समन्वय गरेर खोप अभियान सञ्चालन गरिएको हो । प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार बालबालिकालाई खोप लगाउन ३२ हजार डोज खोप जिल्लामा ल्याइएको छ ।

बैतडीमा हालसम्म १ लाख ४० हजार २ सय २५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १ लाख ६ हजार २ सय ५२ जनाले पूर्ण खोप लगाएका छन् ।