मेगा अक्सनमा सन्दीप मात्रै छनौट



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता भएकोमा एक खेलाडी मात्रै मेगा अक्सनको लागि छनौट भएका छन् । आईपीएल २०२२ मा नेपालबाट मेगा अक्सनका लागि छनौट हुने एक मात्र खेलाडी सन्दीप लामिछाने हुन् । नेपालबाट अघिल्ला केही प्रतियोगितामा राम्रो प्रदर्शन गरेका बाँकी १४ खेलाडी मेगा अक्सनका लागि छनौट हुन असफल भए । छनोट नभएका खेलाडी आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, रोहित पौडेल, सुसन भारी, सरद भेषवाकर, सोमपाल कामी, अभिनास बोहरा, करण केसी, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी, पवन शराफ र सन्दीप जोरा हुन् ।

सन्दीपले यसपटक आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपियाँ) तोकेका छन् । अक्सनमा कुनै टोलीले मूल्य लगाएको खण्डमा सन्दीपले कम्तीमा ४० लाख भारु पाउने निश्चित हुनेछ । २०२१ को आईपीएलमा ० लाख भारुनै राखेका उनलाई कुनै पनि टिमले किनेको थिएन ।

सन्दीपलाई २०१८ मा तत्कालीन दिल्ली डेयरडेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । उक्त सिजनमा दिल्ली लिगबाट बाहिरिएपछि उनले अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएका थिए । २०१९ मा दिल्लीले ६ खेलमा मौका दिँदा सन्दीपले ८ विकेट लिएका थिए । २०२० मा भने सन्दीपले मौका पाएनन् भने गत सिजनमा उनी बिक्न सकेनन् ।

हाल मेगा अक्सनमा कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराए पनि सर्ट लिस्टमा ५ सय ९० खेलाडी मात्र परेका छन् । ३ सय ५५ अन क्याप्ड छन् भने ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन् । अस्ट्रेलियाबाट सबैभन्दा बढी ४७ खेलाडी मेगा अक्सनको लागि छनौट भएका छन् । त्यस्तै वेस्टइन्डिजबाट ३४, दक्षिण अफ्रिकाबाट ३३, न्युजिल्यान्ड र इंग्ल्यान्डबाट समान २४, श्रीलंकाबाट २३, अफगानिस्तानबाट १७, बंगलादेश र आयरल्यान्डबाट समान ५ र जिम्बावेबाट १ खेलाडी अक्सनमा सहभागी हुनेछन् । यसैगरी एसोसिएट टिममा नामिबियाबाट ३, स्कटल्यान्डबाट २, नेपाल र अमेरिकाबाट १–१ खेलाडी रहेका छन् ।

१० टोलीले रिटेनमार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरिसकेका छन् । यसको लागि कुल ३ सय ३८करोड भारु खर्च गरिएको छ । आईपीएल अक्सन फेबु्रवरी १२ र १३ तारिखमा बेंगलोरमा हुनेछ । एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउनेछन् । जसमा ८ विदेशी खेलाडी हुने छन् । १० विदेशी खेलाडी रिटेन भईसकेको अवस्थामा अब ७० विदेशी खेलाडी आइपीएल अक्सनमा बिक्नेछन् । यसपटक १० टोली भएको हुँदा सन्दीपको सम्भावना छ ।

२ करोडको न्युनतम बेस प्राइस राख्नेमा ४८ जना खेलाडी रहेका छन् । न्यूनतम यतिका रकम राख्ने केही नाम चलेका खेलाडी डेभिड वार्नर, कागिसो रबाडा, ड्वेन ब्राभो, पेट कमिन्स, एडम जाम्पा, स्टीभ स्मिथ, सकिल अल हसन, मार्क वुड, ट्रेन्ट बोल्ट, फाफ डु प्लेसिस, रविचन्द्रन अश्विन, श्रेयस अयर, शिखर धवन, इशान किसन, शुरेस रैना रहने छन् ।

प्रतिक्रिया दिनुहोस्