सुजलको एक गोल नै जितका लागि पर्याप्त



काठमाडौं ।

मारिससविरुद्धको दोस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले जित हात पार्न सुजल श्रेष्ठको एक गोल नै पर्याप्त भएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा घरेलु टिम नेपालले मारिससलाई १–० ले हराएको हो । यो नेपालको लगातार दोस्रो जित पनि हो । यसअघि शनिबार सम्पन्न पहिलो मैत्रीखेलमा नेपालले पाहुना टिमलाई १–० ले नै हराएको थियो । योसँगै नेपालले दुई खेलको सिरिजमा दुई जित हात पारेको छ । पहिलो मैत्रीखेलमा मारिससविरुद्ध विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

यसपटक भने सुजलले गोल गर्दै नेपालको जित संभव पारेका थिए । सुजलले खेलको १० औं मिनेटमा गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए । यो उनको तेस्रो अन्तर्राष्ट्रिय गोल हो । सुरुआती गोल नै निर्णायक सावित भएपछि नेपालले जित हात पार्यो । नवीन गुरुङको कर्नर प्रहार मारिससका गोलकिपर लोइक मिचेलले पञ्च गरे पनि बल आशिष लामातिर पुग्यो । उनले प्रहार गरेको बललाई पुजन उपरकोटीले ब्याक हिलमार्फत् पोस्ट नजिकै रहेका सुजलतिर पास दिए । सुजलले उक्त बललाई गोलमा परिणत गरेका थिए ।

त्यसो त केही क्षणमा मारिससले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । तर, नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङले यसलाई विफल तुल्याइदिए । पहिलो गोल भएको दुई मिनेटपछि नेपालको लागि अप्ठ्यारो अवस्था आएको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले पाहुना टिमका कप्तान एन्डी सोफीमाथि फाउल गरे । यसैमा मारिससको लागि पेनाल्टीको अवसर सिर्जना भएको थियो ।

कप्तान सोफीले पेनाल्टी प्रहार गरे । उक्त प्रहारलाई नेपाली टिमका कप्तान किरणले बचाए । तर, बल रिबाउन्ड भएको थियो । उक्त बलमा सोफी पुग्नअघि सरे पनि एरिक विष्टले बल क्लियर गर्न सफल भए । एरिकले नेपाललाई सम्भावित बराबरी गोल बेहोर्नबाट जोगाएका थिए । तर, नेपालको जितमा किरण नायक बने । दोस्रो हाफमा करिब विपक्षीका खतरनाक आधा दर्जन प्रहारलाई उनले विफल तुल्याउनुले नेपालको जित सम्भव भएको थियो ।

दोस्रो हाफमा किरण निकै व्यस्त देखिएको थियो । दोस्रो हाफमै नेपालका एक र मारिससका दुई खेलाडी रातो कार्ड आत्मसात गर्दै मैदानबाहिर जानुपरेको थियो । ७१ औं मिनेटमा नेपालका पुजन उपरकोटी र मारिससका एड्रियन बोट्लर दुई पटक पहेँलो कार्ड पाएपछि रातो कार्ड हेर्दै बाहिरिए । यसपछि नेपालका गोलकिपिङ कोच विकास मल्लले पनि रातो कार्ड आत्मसात गरे । उनी मैदानमा प्रवेश गरेर विपक्षीविरुद्ध केही शब्द बोलेका थिए । यसैमा उनलाई रातो कार्ड दिइएको थियो । ८० औं मिनेटमा सब्सीच्युट खेलाडी इमानुयल फुलचुन्ड लगातार दोहोरो कार्डको शिकार भएपछि मारिससले बाँकी खेल ९ खेलाडीबाट खेल्नुपरेको थियो । १० खेलाडीमा सीमित नेपालले यसको फाइदा भने उठाउन सकेन । अन्तिममा नेपालका लागि अन्जन विष्ट, विमल घर्तीमगरले गोल गर्न अवसर पाए पनि गोल गर्न सकेनन् ।

खेल लम्बियो
अन्तिमतिर बत्ती निभेपछि खेल रोकिनु परेको थियो । फ्लड लाइटमा खेलिएको खेलमा अन्तिमतिर बत्ती गएपछि अन्धकार भएको थियो । यसकारण ८ मिनेट खेल रोकियो । फेरि खेल चालु हुँदा करिब १ सय ७ मिनेटसम्म खेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्