सेमिफाइनलमा भारतको प्रतिस्पर्धा अस्ट्रेलियासँग



लन्डन, (एजेन्सी) ।

भारत र अस्ट्रेलिया वेस्ट इन्डिजमा जारी यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार क्वार्टरफाइनल खेलमा भारतले बंगलादेशलाई हराएर अन्तिम चारमा अस्ट्रेलियासँग भेट पक्का गरेको हो । अस्ट्रेलियाले क्वार्टरफाइनलमा पाकिस्तानलाई हराएको थियो । यो नतिजासँगै भारत र पाकिस्तानको भेट हुने अनुमान फेल भएको थियो । अस्ट्रेलिया र भारत प्रतियोगिताको उपाधि दाबेदारी हुन् । एन्टिगामा बुधबार हुने खेल जसले जित्छ त्यही टिमले उपाधि उचाल्ने पनि क्रिकेट पण्डितहरूले अनुमान लगाएका छन् ।

टस हारेर ब्याटिङ गरेको बंगलादेशले ३७.१ ओभरमा सबै विकेट गुमाई १ सय ११ रन मात्रै बनाउन सक्यो । जवाफमा भारतले ३०.५ ओभरमा ५ विकेटको पतनमा १ सय १२ रनको सामान्य लक्ष्य भेटाएको थियो । बंगलादेशले यसअघि २०२० को यु–१९ विश्वकप फाइनलमा भारतलाई हराएको थियो । यसपटक भने स्कोर कम भएकोले घातक बलिङले पनि बंगलादेशलाई जित दिलाउन सकेन ।

भारतको लागि ओपनर अंगकृष रघुवंशीले सबैभन्दा बढी ४४ रन बनाएका थिए । त्यस्तै, शेख रसिदले २६ रन र कप्तान यश धुलले नटआउट हुँदै २० रन जोडे । भारतले १ विकेट गुमाएर ७० रन बनाउँदा सहजै जित्नेतिर अग्रसर थियो । तर, २७ रन थप्दा ४ विकेट बंगलादेशले झारेको थियो । यो स्थितिमा भारत ५ विकेटको क्षतिमा ९७ रन भएको थियो । बंगलादेशका बलरले भारतविरुद्ध निकै घातक बलिङ गरेका थिए ।

यसअघि, बंगलादेशको शुरुआत नै खराब भएको थियो । दोस्रो ओभरमा रवि कुमारले महफिजुल इस्लामलाई २ रनमा बोल्ड गरे । भारतको यो पहिलो सफलता थियो । यसपछि इफ्ताखेर हुसेन इफ्तिलाई १ रनमा आउट गरेका रविले अर्को ओभरमा प्रान्तिक नभरोजलाई ७ रनमा पभेलियन फर्काए । खेलमा भारतीय बलर रविले ३ विकेट लिएका थिए ।

१६ औं ओभरमा विक्की ओस्तवालले चार बलको बीचमा अरिफुल इस्लाम र मोहम्मद फहीमको विकेट लिए । एकै ओभरमा दुई विकेट पतन भएपछि बंगलादेशको ठूलो स्कोरमा पुग्ने योजना पनि भताभुंग भयो । यही दबाबमा कप्तान रकिबुल हसन ७ रनमा र आइच मोल्ला १७ रन बनाएर आउट भएका थिए ।

अर्को सेमिफाइनल खेलमा मंगलबार इंग्ल्यान्डको सामना अफगानिस्तानसँग हुनेछ । अफगानिस्तानले प्रतियोगितामा स्तब्ध नतिजा निकालेर अन्तिम चारको यात्रा गरेको हो । अफगान टिमले श्रीलंकालाई ४ रनले हराएर निराश पारेको थियो । जबकि, श्रीलंकाले समूह चरणमा बलियो अस्ट्रेलियालाई हराएको थियो । यस्तै, इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्