मोइनको अलराउन्ड प्रदर्शनमा इंग्ल्यान्डको जित



लन्डन, (एजेन्सी) ।

मोइन अलीको अलराउन्ड प्रदर्शनको सहयोगमा वेस्ट इन्डिजविरुद्धको चौथो टी–२० खेल इंग्ल्यान्डले जितेको छ । इंग्ल्यान्डले ३४ रनले खेल जितेपछि ५ खेलको टी–२० सिरिज २–२ बराबरीमा पुगेको छ । योसँगैं पाँचौं तथा निर्णायक खेलबाट सिरिजको टुंगो लाग्ने पनि भएको छ । घरेलु टिम वेस्ट इन्डिजले पहिलो खेल ९ विकेटले र तेस्रो खेल २० रनले जित्यो भने दोस्रो खेल इंग्ल्यान्डले १ रनले जितेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ६ विकेटको नोक्सानीमा १ सय ९६ रन बनाएको थियो । कप्तान बनेका मोइन अलीले ६३ रन बनाएर टिमको लागि सर्वाधिक योगदान दिए । त्यस्तै, जेसन रायले पनि ५२ रन बनाएका थिए । वेस्ट इन्डिजका बलर जेसन होल्डरले सर्वाधिक ३ विकेट लिएका थिए ।

वेस्ट इन्डिजले खेल जित्नको लागि १ सय ९४ रनको लक्ष्य पाएको थियो । तर, जवाफमा टिम ५ विकेटको क्षतिमा १ सय ५९ रनमै सीमित भएको थियो । टिमका लागि ओपनर काएल मेयर्सले सर्वाधिक ४० रन योगदान दिए । त्यस्तै, होल्डरले ३६ रन जोड्दा कप्तान किरोन पोलार्डले १८ रन मात्रै बनाउन सकेका थिए । इंग्ल्यान्डको तर्फबाट मोइनले सर्वाधिक २ विकेट हात पारे ।

इंग्यान्डको जितमा नियमित कप्तान आयन मोर्गानको स्थानमा कप्तानी गरेका मोइन ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले ब्याटिङ र बलिङ दुवै विधामा सानदार प्रदर्शन गरेका थिए । मोइनले २८ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ६३ रन बनाए । यो टी–२० अन्तर्राष्ट्रियमा उनको चौथो अर्धशतक पनि हो । यसपछि बलिङमा उनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । उनले मेयर्स र ब्रेन्डन किंग (२६ रन) लाई आउट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्