बार्टीको उपाधिसँगै ४४ वर्षको पर्खाइको अन्त्य



मेलबर्न, (एजेन्सी) ।

एस्लिग बार्टीले उनको राष्ट्र अस्ट्रेलियाको अस्ट्रेलियन ओपनअन्तर्गत सिंगल्सतर्फ उपाधिको लामो पर्खाइको अन्त्य गरेकी छन् ।
वोमेन्स सिंगल्सकी विश्व नम्बर एक बार्टीले अमेरिकाकी डेनिएल कोलिन्सलाई ६–३, ७–६ ले हराएर अस्ट्रेलियाको टेनिसमा इतिहाससमेत रचिन् । उनले शनिबार मेलबर्न पार्कमा भएको वोमेन्स सिंगल्स फाइनलको दोस्रो सेटमा ५–१ ले पछि परेको अवस्था उल्ट्याएर उपाधि हात पारेकी हुन् । २५ वर्षीया क्विन्सल्यान्डरकी बार्टीले उपाधि जित्न कुनै पनि सेट गुमाइनन् । उनले ७ खेल नै सीधा सेटमा जितेकी हुन् ।

उपाधि जितेपछि बार्टीले बताइन्—मेरो लागि सपना साँचो भएको छ । म अस्ट्रेलियाली हुनुमा गर्व पनि गर्छु ।
रड लेभर एरेनामा उपस्थित करिब १२ हजार दर्शकले बार्टीलाई उपाधि जित्न हौसला प्रदान गरेका थिए । ती दर्शकमा अस्ट्रेलियाका पूर्व विजेताहरूका साथै अस्ट्रेलियन हलिउड स्टारहरूको पनि उपस्थित रहेका थिए । उनको ऐतिहासिक जित हेर्न पछिल्लोपटक अस्ट्रेलियाको लागि सन् १९७८ मा अस्ट्रेलियन ओपनको वोमेन्स सिंगल्स जितेकी क्रिस ओनिल पनि उपस्थित रहिन् ।

ओनिलले उपाधि जित्दा त्यतिबेला ग्रास कोर्टमा अस्ट्रेलियन ओपन खेलिन्थ्यो । अहिले अस्ट्रेलियन ओपन हार्ड कोर्टमा खेलिन्छ । ओनीलले जिते यता ४४ वर्षको लामो पर्खाइपछि बार्टी अस्ट्रेलियन ओपन जित्ने पहिलो अस्ट्रेलियाली खेलाडी बनेकी छन् । अस्ट्रेलियाका पु्रुष वा महिला खेलाडीले आफ्नै देशमा भएको ग्रान्डस्लाम जित्न निकै लामो समय पर्खनुपरेको थियो ।

यो बार्टीको करियरको तेस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि, उनले सन् २०१९ मा फ्रेन्च ओपन र गत वर्ष विम्बल्डन जितेकी थिइन् । बार्टीले पहिलो सेट जितेर दोस्रो सेटमा दुई सर्भिस ब्रेक गराएर ५–१ ले पछि पर्दा खेल निर्णायक सेटमा जाने अग्रसर थियो । तर, कोलिन्सको लगातार गल्तीको फाइदा उठाएर बार्टीले दोस्रो सेट ५–५ मा पुर्याइन् ।

कोलिन्सले सर्भिस बचाएर पुन एकपटक सेटमा ६–५ को अग्रता लिइन् । अर्को सर्भिस बार्टीले बचाएपछि सेट ६–६ गेमको बराबरी भयो । टाइब्रेकरमा कोलिन्सविरुद्ध दुई ब्रेकसहित बार्टी छिटै ५–१ को अग्रतामा पुगिन् । कोलिन्सले बार्टीको सर्भिसमा अंक लिँदै ५–२ बनाइन्, तर बार्टीले यसपछि दुई अंक जम्मा गर्दै सेट र उपाधि जितिन् । उनको जितसँगै घरेलु दर्शकको तालीले रड लेभर एरेना केही समयको लागि गुञ्जायमान भएको थियो ।

दुर्भाग्यशाली कोलिन्स
कोलिन्सले बार्टी र अस्ट्रेलियाली दर्शकको पार्टीलाई भताभुंग बनाउन असफल भइन् । कोलिन्सले ६ वर्षको करियरमा पहिलो पटक ग्रान्डस्लाम फाइनल खेलेकी हुन् । तर, मेडन ग्रान्डस्लाम फाइनलमा उनी दुर्भाग्यशाली साबित भइन् । उनले अप्रिलमा इन्डोमेट्रियोसीसको लागि शल्यक्रिया गर्न टेनिसबाट टाढा हुने बताएकी थिइन् । उनले कति बेला टेनिसमा फर्कने केही थाहा नभएको समेत बताएकी थिइन् ।

तर, कोलिन्सले दुई महिनापछि नै टेनिस खेल्न थालिन् । अभ्यासमा पेट दुख्ने कम भएकोले उनले प्रतियोगितामा भाग लिएको बताएकी थिइन् । उनले मेलबर्नमा असाधारण प्रदर्शन गरेर सबैलाई चकित बनाइदिइन् । दुई महिना अघि पेटको शल्यक्रिया गरेको भन्ने आभास उनले कसैलाई गराइनन् । उनको शसक्त प्रहार, कोर्टमा एक छेउबाट अर्को छेउमा दौडेर खेल्दा पनि उनले एकपटक पनि उपचार लिनुपरेन ।

पहिलो सेटमा बार्टीसँग २–२ बराबरी गरेकी कोलिन्सले पाँचौं गेममा ब्रेक प्वाइन्टको मौका आएको थियो । तर, कोलिन्सले अपरिपक्व खेल देखाएपछि बार्टीले त्यो सर्भिस बचाइन् र सेटमा कोलिन्स ३–२ ले पछि परिन् । यसपछि आफ्नै सर्भिस बे्रक गराएपछि कोलिन्स ४–२ ले पछि परिन् । कोलिन्सको सर्भिस कमजोर हुनु नै बार्टीको लागि यो सेट जित्न कठिन भएन ।

दोस्रो सेटमा कोलिन्सले शसक्त फोरह्यान्ड र रिटन्र्सको प्रभावले गर्दा बार्टीलाई लगातार गल्ती गर्न लगायो । यो सेटमा कोलिन्स दुई ब्रेक सर्भिसको सहयोगमा ५–१ को अग्रतामा पुगेकी थिइन् । तर, उनी यो जित्ने अवस्थामा विचलित भइन् र लगातार अंक गुमाउँदै गइन । यसको फाइदा बार्टीले लिइन् र सेट ५–५ मा पुर्याएकी थिइन् । टाइब्रेकरमा कोलिन्सको प्रहार एउटै पनि सही लागेन भने बार्टीको सशक्त सर्भिससामु उनी नतमस्तक हुनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्