पावेलको शतकमा वेस्ट इन्डिजको जित



लन्डन, (एजेन्सी) ।

रोभम्यान पावेलले शतक प्रहार गरेपछि वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको तेस्रो ट्वेन्टी २० खेल जितेको छ । बार्बाडोसमा भएको खेलमा पावेलले ५३ बलमा १ सय ७ रन बनाएका हुन् । उनले १० छक्का प्रहार गरेका थिए । उनले तेस्रो विकेटका लागि निकोलास पूरणसँग १ सय २२ रनको साझेदारी गरे । पूरणले ४३ बलमा ७० रन बटुलेका थिए । योसँगै वेस्ट इन्डिजले टी–२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डविरुद्ध तेस्रो उच्चतम योगफल २ सय २४ रन तयार पार्यो ।

पहिले ब्याटिङ गरेको घरेलु टिम वेस्ट इन्डिजको शुरुवात राम्रो भएको थिएन । ४८ रनको योगफलमा टिमका दुवै ओपनर ब्याटर ब्रेन्डन किंग (१० रन) र शाई होप (४ रन) आउट भए । यसपछि, पूरण र रोभम्यानले टिमलाई सम्हालेका थिए । उनीहरूले तेस्रो विकेटका लागि गरेको १ सय २२ रन वेस्ट इन्डिजको टी २० अन्तर्राष्ट्रियमा उत्कृष्ट साझेदारी बन्यो । रासिदले पूरणलाई लिभिंगस्टोनको हातबाट क्याच आउट गरेपछि यो शतकीय साझेदारीको अन्त्य भयो ।

जवाफमा इंग्ल्यान्डका ओपनर खेलाडी टम बेन्टनले ३९ बलमा ७३ रन र टी २० मा डेब्यु गरेका फिल साल्टले २४ बलमा ५७ रनको आक्रमक ब्याटिङ गरे । तर, कप्तान आयान मोर्गानसहित अन्य खेलाडी जम्न नसक्दा इंग्ल्यान्ड २ सय ४ रन मा सीमित भएको थियो । नतिजा वेस्ट इन्डिज २० रनले विजयी हुनुका साथै ५ खेलको टी–२० सिरिजमा २–१ को अग्रता पनि लिएको छ । शनिबार र आइतबार बाँकी खेल हुँदैछ ।

पावेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने वेस्ट इन्डिजका तेस्रो ब्याटर हुन् । वेस्ट इन्डिजका लागि यसअघि क्रिस गेल र इभिन लेविसले शतक प्रहार गरेका थिए । २०१७ मा डेब्यु गरेका उनी वेस्ट इन्डिजको टी–२० टिममा नियमित खेलिरहेका छन् । उनीमाथि वेस्ट इन्डिजले ठूलो आस गरेका छन् तर, उनले ५ वर्षपछि २८ वर्षको उमेरमा विस्फोटक ब्याटिङ गरेर टिमको आसलाई साकार बनाए ।

प्रतिक्रिया दिनुहोस्