उपाधिका लागि खेल्दै बार्टी र कोलिन्स



मेलबर्न, (एजेन्सी) ।

एस्लिग बार्टी अस्ट्रेलियन ओपनअन्तर्गत ४२ वर्षको लामो समयबीच वोमेन्स सिंगल्स फाइनलमा पुग्ने पहिलो अस्ट्रेलियाली खेलाडी बनेकी छन् । वोमेन्स सिंगल्सको नम्बर एक खेलाडी बार्टी अमेरिकाकी मेडिसन किजलाई सीधा सेटमा हराएकी हुन् । विम्बल्डन विजेता बार्टीले वरीयताविहीन खेलाडी किजलाई ६–१, ६–३ ले पराजित गरेकी थिइन् । उनी १९७८ पछि अस्ट्रेलियन ओपन जित्ने पहिलो अस्ट्रेलियाली खेलाडी बन्न एक जितले टाढा छिन् । उक्त वर्षमा वोमेन्स सिंगल्समा क्रिस्टिन ओनिलले उपाधि जितेपछि कोही पनि अस्ट्रेलियाली पुरुष वा महिला खेलाडीले अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् ।

बार्टीले इतिहास रच्न शनिबार हुने फाइनलमा अमेरिकी खेलाडी डेनिएल कोलीन्सलाई हराउनुपर्नेछ । कोलीन्सले सातौं वरीयता प्राप्त इगा स्वायटेकलाई ६–४, ६–१ ले हराइन् । २०१९ मा सेमिफाइनलसम्म यात्रा गरेकी उनले यसपटक फाइनलमा स्थान बनाएकी छन् । उनले २०२० को फ्रेन्च ओपन विजेता स्वायाटेकविरुद्ध पहिलो सेट र दोस्रो सेटमा समान ४–० को अग्रता लिएकी हुन् ।

दुवै सेटमा पोल्यान्डका स्वायाटेकले पाँचौं सर्भिस जितिन् । पहिलो सेटमा उनले ५–३ को अवस्थामा तीन सेट प्वाइन्ट बचाइन् । आफ्नो सर्भिस बचाएर खेल ५–४ को अवस्थामा पुर्याए पनि कोलिन्सको शानदार फोरह्यान्ड, सर्भिस र ब्याकह्यान्डसामु उनको केही लागेन । कोलिन्सले आफ्नै सर्भिस बचाएर पहिलो सेट ६–४ ले जितिन् ।

कोलिन्स्ले अर्को सेटमा पनि स्वायाटेकलाई पूरै दबाबमा राखिन् । उनले स्वायाटेकको दुई सर्भिस तोड्दै ४–० को अग्रता लिइन् । पाँचौं सर्भिस जितेर स्वायाटेकले ४–१ को स्थितिमा ल्याइन् । तर, अर्को सर्भिसमा कोलिन्सले सहजै जितेर खेल ५–१ मा पुर्याइन् । त्यसपछि लगातार अनावश्यक गल्ती गरेकी स्वायाटेकको सर्भिस तोडेर कोलीन्सले पहिलोपटक ग्रान्डस्लाम फाइनल खेल्ने पक्का गरिन् ।

जितेपछि कोलिन्सले बताइन्—मेरो पहिलो ग्रान्डस्लाम फाइनलमा पुगेर अचम्म भएको महसुस गरिरहेकी छु । यो यस्तो यात्रा हो जुन रातारात हुँदैन । कोलिन्सको लागि घरेलु खेलाडी बार्टीलाई रोक्न कठिन कार्य हुनेछ । बार्टी सारा अस्ट्रेलियाको अपेक्षाको विषय बनेको छ । उनीमाथि ४३ वर्षपछि अस्ट्रेलियाको लागि घरेलु ग्रान्डस्लाम जित्नुपर्ने दबाब पनि छ । उनले बताइन्—‘यो अवास्तविक हो । अस्ट्रेलियाको रूपमा हामी ग्रान्डस्लामको राष्ट्र हौं अहिले हामीसँग उपाधिको लागि खेल्ने अवसर छ ।

बार्टीले २०२२ मा हालसम्म खेलेको सबै खेल जितेकी छन् । उनले जारी वर्षमा अस्ट्रेलियन ओपनको ६ खेलगरी कुल १० सिंगल्स खेल जितेकी हुन् । यसै वर्ष एडिलेड इन्टरनेसनल उपाधि जितेकी उनी लयमा छिन् र मेलबर्न पार्कमा पनि प्रतिद्वन्द्वीमाथि वर्चश्व जमाएकी छन् । उनको सफलताको ठूलो हतियार भनेको सशक्त सर्भिस हो । उनले जारी प्रतियोगितामा ६ खेलमा सेट गुमाएकी पनि छैनन् ।

बार्टीले सेमिफाइनलको खेलमा किजलाई पहिलो सेटमा ४–१ को अग्रता लिएर दवावमा राखेकी हुन् । उनको फोरह्यान्डको जवाफ किजसँग छैन । किजले ड्रप शट खेलिन्, तर बार्टीले त्यसैमा प्वाइन्ट बटुलिन् । किजको सर्भिस पनि सही भएन र डबल फल्ट गरेपछि पहिलो सेट बार्टीले २६ मिनेटमै जितिन् । दोस्रो सेटमा २–२ बराबरी हुँदा किजले बार्टीलाई केही अप्ठयारो पारिन् । तर, अर्को सर्भिस बार्टीले तोडिन् र आफ्नो सर्भिस बचाएर ४–२ को अग्रता लिइन् ।

उक्त प्रदर्शनमा घरेलु दर्शक निकै उत्साहित भए । साथै, ११ पटकको ग्रान्डस्लाम विजेता रड लेभर स्वयं पनि बार्टीलाई उत्साहित बनाइरहे । जब बार्टीले १ घण्टा २ मिनेट समय खर्चेर जित निकालिन्, त्यसपछि रड लेभर कोर्ट दर्शकको ताली र आवाजले गुन्जमायन भयो । ४३ वर्षसम्म अन्य देशका खेलाडी फाइनल पुग्दा ताली बजाइरहेका अस्ट्रेलियाका दर्शकका लागि लामो समयपछि घरेलु खेलाडी फाइनल पुगेको अवस्थामा खुसी डबल हुने नै भएको बार्टीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्