आर्मीलाई पेनाल्टीमा हराउँदै मनाङ फाइनलमा



पोखरा ।

घरेलु टोली मनाङ मस्र्याङ्दी क्लब २०औं आहा–रारा गोल्डकपको फाइनलमा बिहीबार प्रवेश गरेको छ । मनाङले आर्मीलाई पेनाल्टीमा ४–३ ले हराउँदै फाइनल प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकियो भने अतिरिक्त ३० मिनेट समयमा समेत दुवै टोलीले गोल गर्न नसक्दा नतिजा पेनाल्टीबाट निकाल्नुपर्यो । मनाङले शनिबार उपाधिको लागि अर्को विभागीय टिम एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले मच्छिन्द्रलाई ३–१ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

पेनाल्टीमा आर्मीका भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे भने दीपक गुरुङको प्रहार बारमा लाग्दै बाहिरियो । युद्ध शाहीको प्रहार मनाङका गोलरक्षक अशोक बरालले बचाउ गरे । मनाङका एडेलेजा सोमिडे, शिव गुरुङ, रूपेश केसी र आफिज ओलावालाले गोल गरे । विश्व अधिकारीको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए ।

यसअघि, पहिलो हाफमा पेनाल्टीमा चुक्दा मनाङले निर्धारित समयमा जित निकाल्न सकेन । खेलको पहिलो मिनेटमा आर्मीका कप्तान भरतको हेडर फितलो रह्यो । विवेक बस्नेतको क्रसमा मनाङ मस्र्याङदीका डिफेन्डर आदित्य चौधरीले हेडमार्फत क्लियर गर्न खोज्दा चिप्लिदा खवासले अवसर पाएका थिए । खेलको ८औं मिनेटमा मनाङका कप्तान विमल राना पेनाल्टीमा चुक्दा सुवर्ण अवसर खेर गयो । मनाङका सोमिडेले डी एरिया नजिकैबाट गरेको क्रसमा आर्मीका डिफेन्डर युद्ध शाहिले डी एरियाभित्र बल नियन्त्रणमा लिने प्रयास गर्दा हातमा लागेको थियो ।

३५औं मिनेटमा कप्तान भरतको हेडर बाहिरियो । विवेक बस्नेतको प्रहारलाई डिफेन्डरले रोक्दा जर्ज प्रिन्सको प्रहार गोललाइनबाट रोक्दा रिफ्लेक्ट बलमा भरतले प्रहार गरेका थिए । ३९औं मिनेटमा राजेश परियारको क्रसमा सोमिडेको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ४४औं मिनेटमा विमल पाण्डेको पेनाल्टी क्षेत्रको प्रहार गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे ।

५२औं मिनेटमा ओलावालेको प्रहारमा आर्मीका गोलरक्षक विकेश कुथु बाधक बने । खेलको ५६औं मिनेटमा आर्मीको गोलको सुवर्ण अवसरमा डिफेन्डर बाधक बने । प्रिन्सको फ्रिकिक प्रहारमा राजीवको हेडरलाई डिफिन्डरले गोललाइनबाट क्लियर गरे । ६१‍ औं मिनेटमा ओलावालाले सेन्टरलाइनबाट अघि बढाएको बलमा आर्मीको गोलरक्षक निकै अघि बढ्दा बिट भइसकेको अवस्थामा प्रहार गर्न ढिला गरे । उनले दिएको पासमा सोमिडेले प्रहार गरे पनि विकेशले उत्कृष्ट बचाउ गरे ।

जितसँगै मनाङका प्रशिक्षक फुजा तोपेले उपाधि जितेरै जाने प्रतिक्रिया दिए । आर्मी निकै बलियो टिम भएकाले खेल निकै रोमाञ्चक बनेको उनले बताए । निर्धारित समयमै सकिने खेलमा पेनाल्टीको अवसरको सदुपयोग गर्न नसक्दा टाइब्रेकरको सहायता लिन परेको सुनाए । मनाङको फाइनलको यो यात्रा १२औं पटक हो । मनाङ आहा–रारा गोल्डकपको सर्वाधिक च्याम्पियन टिम हो । मनाङले ६ पटक उपाधि उचालेको छ । उता फाइनलमा पुगेको एपीएफको भने दोस्रो हो । एपीएफ उपाधिविहीन छ ।

प्रतिक्रिया दिनुहोस्