धमाधम रोकिँदै खेल



Football.

हेटौंडा, (नेस) ।

मकवानपुरमा कोरोना संक्रमण बढेको अवस्थामा खेलकुदका गतिविधि रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भिड हुने कार्यक्रम, सभा, सम्मेलन तथा खेलकुदका गतिविधि नगर्न सार्वजनिकरूपमा निर्देशनसमेत दिएको छ ।

मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्ने तयारी गरेको जिल्ला लिग फुटबल प्रतियोगिता, स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता र प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत छनोटसहितका खेलहरू तत्काललाई स्थगित भएको छ ।

तयारी नपुगेको र कोरोना बढेको भन्दै विगत दुई वर्षदेखि हुन नसेकेको जिल्ला लिग यस वर्ष पनि पटक–पटक मिति तोकेर स्थगित गरिएको छ । जिल्लाका क्लबहरूको सहभागितामा पुस १० गतेबाट जिल्ला लिग गर्ने भनिएकोमा तयारी नपुगेको भन्दै सहभागी क्लबहरूको अनुरोधमा सारिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डरअनुसार मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्दै आएको शहीद स्मृति मकवानपुर गोल्डकप माघ १६ गतेबाट गर्ने तयारी थियो । फुटबल संघका महासचिव युनाल मल्लले सूचना जारी गर्दै कोरोनाको संक्रमण बढेकोले हाललाई प्रतियोगिता स्थगित गरेको जानकारी दिइसकेका छन् । वातावरणअनुकूल हुनेबित्तिकै खेलको मिति तोकिने सूचनामा उल्लेख छ ।

वागमती प्रदेश खेलकुद परिषद्ले आयोजना गर्ने प्रदेश खेलकुद प्रतियोगिताको छनोट खेलहरू पनि स्थगित भएको छ । प्रदेश खेलकुद प्रतियोगिता माघ अन्तिमबाट गर्ने तयारी थियो । आन्तरिक तयारी गरी पालिकामा पत्र पठाइसकेकोमा कोरोना संक्रमण बढेसँगै भिड हुने कार्यक्रम गर्न रोक लगाएपछि छनोट प्रतियोगिता पनि स्थगित भएको छ । प्रदेश खेलकुदमा एथ्लेटिक्स, फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, तेक्वान्दो, कराते र ब्याडमिन्टन हुने गरेको छ ।

जिल्ला लिगलगायत नियमित हुँदै आएका प्रतियोगिताहरू कोरोनाका कारण केही वर्षदेखि निरन्तर हुन सकेको छैन । खेलकुदका प्रतियोगिता नियमित नहुँदा खेलाडी उत्पादनमा असर पर्दै आएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै खेल गतिविधि क्रमशः कम हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्