सेनेगल र मोरोक्को क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) ।

सेनेगल र मोरोक्को ‘अफ्रिका कप अफ नेसन्स’ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सेनेगलले ९ खेलाडीमा समेटिएको केप भार्डेलाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । क्यामरुनमा मंगलबार राति भएको खेलमा सेनेगलको जितमा साडियो माने र एमाडोउ बम्बा डिइङले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको २१औं मिनेटमा केप भार्डे १० खेलाडीमा समेटिन पुगेको थियो । प्याट्रिक एन्डराडे सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलको ५७औं मिनेटमा केप भार्डे ९ खेलाडीमा समेटिन पुगेपछि त्यसको फाइदा सेनेगलले उठाउन सफल भयो । भोजिन्हा सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसको ६ मिनेटपछि साडियो मानेले गोल गर्दै सेनेगललाई शुरुवाती अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमाडोउ बम्बा डिइङले गोल गर्दै टोलीको जित पक्का गर्दै क्वार्टरफाइनलको यात्रा तय गराए । अब सेनेगलले क्वार्टरफाइनलमा माली वा इक्वेटेरियल गिनियामध्येको विजेतासँग खेल्नेछ ।

अर्को प्रि–क्वार्टरफाइनलमा मोरोक्कोले मालावीमाथि २–१ को पुनरागमन जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो । मोरोक्कोको पुनरागमन जितमा युसुफ इन न्यास्री र अचरफ हाकिमीले गोल गरे । मालावीका गाभाडिनोको गोल सान्त्वना बन्यो ।

खेलको सातौँ मिनेटमा गाभाडिनोको गोलबाट मालावीले शुरुवाती अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई मालावीले जोगाउन सकेन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा युसुफले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७०औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै टोलीको जित पक्का गराए । अब मोरोक्कोले क्वार्टरफाइनलमा आइभोरी कोस्ट वा इजिप्टबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्