एपीएफ १४ वर्षपछि आहा–राराको फाइनलमा



पोखरा ।

नेपाल एपीएफ क्लब १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आहा–राराको २०औं संस्करणअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले निराश पार्दै एपीएफ फाइनलमा पुगेको हो । पोखरा रंगशालामा भएको खेलमा विभागीय टिमलाई जित दिलाउन सनिश श्रेष्ठले पहिलो हाफमा एक गोल गरे । यस्तै, दोस्रो हाफमा प्रदीप लामा र नवीन लामाले एक–एक गोल गरेपछि एपीएफ लामो समयपछि प्रतियोगिताको फाइनलमा पुग्यो ।

आहा–रारामा एपीएफ दोस्रोपटक फाइनल प्रवेश गरेको हो । यसअघि, २०६४ सालमा फाइनल प्रवेश गरेको एपिएफ पुलिससँग २–० ले हारेर उपाधि विमुख भएको थियो । एपीएफले तेस्रो संस्करणको आहा गोल्डकपदेखि सहभागिता जनाउँदै आएको थियो । १५ पटक प्रतियोगितामा सहभागिता जनाएको एपीएफले १०औं र ११औं संस्करणमा भने भाग लिएको थिएन ।

उता मच्छिन्द्र भने दोस्रोपटक अन्तिम चारमै रोकिएको छ । यसअघि, मच्छिन्द्रले २०७० सालमा अन्तिम चारको यात्रा गरेको थियो । उक्त खेलमा मच्छिन्द्र आयोजक सहारा क्लब पोखरासँग टाइब्रेकरमा ४–३ को हार व्यहोरेको थियो । मच्छिन्द्रको यो पाँचौं सहभागिता हो । आठौं संस्करणबाट सहभागिता जनाएको मच्छिन्द्रले ११औं, १२औं र १९औं संस्करणमा सहभागिता जनाएको थियो ।

चौथो मिनेटमा मच्छिन्द्रका मथनिएल जुडे ब्राकियाको प्रहार दोस्रो बारनजिकै बाट बाहिरियो । उत्सव राईले सेन्टरलाइन बाट बिट गर्दै अघि बढाएको बल अभिषेक रिजाललाई पास दिँदा उनले गरेको क्रसलाई क्लियर गर्ने क्रममा अडम्बा डोम्बियाले हेड गरेको बलमा मठनियलले प्रहार गरेका थिए । छैटौं मिनेटमा एपीएफका अर्मन्ड बेडुमले २ डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १९औं मिनेटमा प्रदीप लामाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहारलाई मच्छिन्द्रका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । अर्मन्डको पासमा लामाले गोल गर्ने अवसर खेर फाले ।

खेलको २५औं मिनेटमा एपीएफका सन्तोष श्रेष्ठले हेडमार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । मच्छिन्द्रका डिफेन्डर छिरिङ गुरुङले मणि लामालाई लडाएपछि एपीएफले फ्री किकको अवसर प्राप्त गरेको थियो । मणिले नै प्रहार गरेको फ्रीकिकमा सन्तोषले उत्कृष्ट गोल गरे । ४०औं मिनेटमा नुरेन करिमले गोल फर्काएर मच्छिन्द्रलाई १–१ बराबरीमा ल्याए । तर, दोस्रो हाफमा एपीएफ दुई गोल गर्न सफल हुँदा लिगको शीर्ष टिम मच्छिन्द्रले हार बेहोर्न बाध्य भएको थियो ।

खेलको ४९औं मिनेटमा मच्छिन्द्रले पाएको फ्रीकिक खेर फाल्यो । उत्सवले प्रहार गरेको बललाई अडम्बा डुम्बियाले हेड गर्दै क्लियर गर्न खोज्दा हातमा लाग्न पुगेको थियो । मोलाजाले निकै फितलो प्रहार गरे । ५८औ मिनेटमा एपीएफका कप्तान नवीन लामाले गोल गर्ने अवसर खेर फाले । अडमा डोम्बिया खाली रहेको अवस्थामा आफैंले प्रहार गर्न खोज्दा अग्रता दोब्बर गर्नबाट चुके ।

६४औं मिनेटमा मछिन्द्रका कप्तान रञ्जित धिमालले प्रहार गरेको सशक्त कर्नरलाई गोलरक्षक कुरियामा युयाले पन्च गर्दै बचाउ गरे । ६९औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । कप्तान नवीन लामाको क्रसमा उनले अघि बढ्दै वानटचमा उत्कृष्ट फिनिसिङ गरे । कप्तान रञ्जित धिमाल र मणि लामासँगै लड्दा पाएको बलमा कप्तान लामाले क्रस गरेका थिए ।

निर्धारित समयमा थप गरिएको पाँच मिनेटको इन्जुरी समयमा नविन लामाले थप १ गोल गरे । प्रदीप लामाले गरेको प्रहारलाई गोलरक्षक सूर्य अधिकारीले बचाउ गर्दा फर्किएको बललाई उनले नियन्त्रणमा लिँदै सहजै गोल गरे । प्रदीप खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । दोस्रो सेमिफाइनल खेल आज मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच हुनेछ । यस खेलको विजेता टिम र एपीएफले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्