स्थानीय तहको चुनाव संविधानले तोकेकै समयमा हुनुपर्छ : मेयर खत्री



बुद्ध नेपाली, सिन्धुली  ।

कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले स्थानीय तहको चुनाव बैशाखमै गर्न सङ्घीय सरकारसँग अपिल गर्नुभएको छ । शनिवार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मेयर खत्रीले स्थानीय तहको चुनाव वैशाखमै गर्न निर्वाचन आयोग, सङ्घीय सरकारसँग अपिल गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्ति प्रधानमन्त्रीको कार्यालय र निर्वाचन आयोगमा पठाइने मेयर खत्रीले बताउनुभयो । उहाँले राजनीतिक दलहरूले आफ्नो राजनीतिक अभिष्ठ पुरा गर्न स्थानीय तहको चुनाव सार्ने गरी आएको नेताहरूको अभिव्यक्ति र सञ्चार माध्यममा आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा मेयर खत्रीले निर्वाचित जनप्रतिनिधि भएको आधारमा कुनै पनि बाहानमा स्थानीय तहको चुनाव सार्ने काम विल्कुलै बेठिक हुने बताउनुभयो । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरूको काम जनताकै सेवा गर्ने भएको भन्दै मेयर खत्रीले जनताको मताधिकारलाई कुण्ठित गर्ने, जनप्रतिनिधि विहीन स्थानीय तह बनाउने, म्याद थप गर्ने जस्ता कार्यले देशको लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभयो ।

मेयर खत्रीले जनताले आफ्नो अधिकार संविधानको मूल मर्म अनुसार नै प्रयोग गर्ने गरी नै समयमै स्थानीय तहको चुनाव गर्ने वातावरण बनाउन निर्वाचन आयोग, सङ्घीय सरकार, आम जनसमुदाय, अधिकारकर्मी, नागरिक समाज, पत्रकार लगाएतमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्