पाइरेटेड सपनामा एनिमेसन आर्ट



मासिनहरू अरुले बाँचिरहेका सपना पूरा गर्ने दौडमा हुन्छन्। यस्तै, असंगत सपनाको कथामा बनेको फिल्म चिसो एस्ट्रेको गीत सार्वजनिक गरिएको छ। ड्रिम पाइरेसी बोलको गीतले पाइरेटेड सपनाको कुरा गरेको छ। हालै अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए।

‘हामी अहिले ग्लोब भिलेजमा छौँ, जहाँ हामीले देख्ने सपनासमेत आयातित छन्। फिल्ममा चरित्रले यस्तै सपना देख्छन् जुन आफैंमा मौलिक होइनन्’ अजरको भनाइ थियो ‘निर्देशक दिनेश पाल्पालीले फिल्मका चरित्रलाई खिपेर शब्द लेख्नुभएको थियो, जसलाई मैले संगीत र स्वरद्वारा अभिव्यक्त गर्ने कोशिस गरेको छु।’

फंक शैलीको गीतमा परम्परागत फिल्ममा जस्तो कलाकारलाई देखाइएको छैन। बरु युवा पुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मालगायत एनिमेसन आर्ट गरेर देखाइएको छ। गामी चैत ४ गतेका लागि रिलिज डेट तोकिएको फिल्म दिन्श पाल्पालीले निर्देशन गरेका छन्। फिल्मले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेस गरेको उनले बताए।

‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित छ’ कार्यक्रममा फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले भने। उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना हुन् भने निर्माणमा प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्। फिल्मको सह–निर्मातामा भने रूपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्