अदुवाको मूल्य नपाएपछि धमाधम सुठो बनाउँदै कृषक



डोटी ।

डोटीको बडिकेदार गाउँपालिका–४ का किसानहले काँचो अदुवाको उचित मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसार खेतीका लागि जिल्लाकै प्रशिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसार खेती गर्दै आएका छन् ।

यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारी केन्द्र भारतको पलिया, गौरीफन्टा र वनबासा भएको र त्यहाँका व्यापारीले मूल्यमा घट–बढ गर्ने गरेका कारण किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको बडिकेदार–४ का अदुवा व्यापारी खडक केसीले बताउनुभयो । ‘हाम्रो अदुवा र बेसारको मुख्य व्यापारी केन्द्र भारतका शहर हुन्, त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण हामीलाई समस्या भएको हो’, उहाँले भन्नुभयो– ‘हामीले उत्पादन गरेका वस्तु हाम्रै शहरमा खपत हुन सके राम्रो हुन्थ्यो, किसानलाई पनि राहत हुन्थ्यो ।’

यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सस्तो मूल्यमा किनी सुठो बनाउन थालेको अर्का अदुवा किसान नरेश मौनी बताउनुहुन्छ । उहाँका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलो काँचो अदुवाबराबर पछि गएर (सुकेपछि) जम्मा एक किलो मात्रै हुने उहाँको भनाइ छ । यसरी सुकाएर बनाइएको सुठो वर्षौंसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले यहाँका किसानले उत्पादन गरेका अदुवा अहिले गाउँमै सुठो बनाउन थालिएको अर्का स्थानीयवासी दलबहादुर कलेलले जनाउनुभयो । उहाँका अनुसार स्थानीय काउलेबजार नजिकको खाली डाँडामा गाउँकै स्थानीय व्यापारीले किसानबाट काँचो अदुवा सङ्कलन गरी सुठो बनाउन थालेका हुन् । किसानले उत्पादन गरेको अदुवालाई स्थानीयस्तरमै बिक्री–वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको हो ।

कोचो अदुवालाई सुठो बनाउनका लागि गाउँका कम्तीमा पनि सात/आठ जना युवा परिचालन गरिएको बताइएको छ । यहाँका व्यापारीले अहिले गाउँमा उत्पादन गरिएको काँचो अदुवा प्रतिकिलो २८ रुपियाँमा खरिद गरी सुठो बनाउन थालेको बडिकेदार गाउँपालिका–५ का हर्कबहादुर बोहराले बताउनुभयो । ‘भारतीय व्यापारीले अदुवा नकिन्दा किसानलाई समस्या भएको थियो, गाउँकै दाजुभाइले खरिद गरेर सुठो बनाउँदा धेरैले रोजगारी पनि पाए र किसानलाई राहत भएको छ ।’ –उहाँले भन्नुभयो ।

गाउँमै सुठो बनाउन थालेकाले यो निकै राम्रो काम भएको र किसानले पनि घरैमा मूल्य पाउँदा खुसी भएको सुनौलो किरण कृषक समूह बडिकेदार–४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताउनुभयो । ‘विगतमा भारी बोकेर अदुवा निकै टाढा रहेको बिपीनगर पुर्याउनुपथ्र्यो, त्यहाँ मूल्य नपाउँदा समस्या हुन्थ्यो’, –उहाँले भन्नुभयो– ‘अहिले त्यो समस्या हटेको छ ।’ सुठो बनाउँदा तापक्रम बढी चाहिने भएकाले अहिले यहाँका खासै घाम नलाग्ने गरेका कारण समस्या हुने गरेको ताडीको भनाइ छ ।

किसानको मागबमोजिम बडिकेदारमा अदुवा तथा बेसार प्रशोधन केन्द्र बनाउनका लागि आवश्यक पहल भइरहेको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । भारतीय व्यपारीले अदुवा र बेसारको मूल्यमा वर्षेनी गर्ने उतार–चढावले यहाँका किसानलाई ठूलो नोक्सानीमा हुने गरेको थियो । भारतले विभिन्न बहाना बनाएर अदुवा खरिदमा बेला–बेलामा आनाकानीसमेत गर्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्