तीन मितेरी पालिकाबीच अनुभव साटासाट



गुल्मी ।

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा तीन मितेरी गाउँपालिकाबीच अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गरिएको छ । धुर्कोट गाउँपालिकाको आयाजनामा बागलुङको ताराखोला गाउँपालिका, तनहुँको बन्दीपुर गाउँपालिका र मितेरी गाउँपालिकाबीच अनुभव आदान–प्रदान भएको हो ।

पालिकाहरूले ४ वर्षको अवधिमा गरेका कामका अनुभव साटासाटा गरिएको थियो । गाउँपालिका प्रमुखहरुले आ–आफनो क्षेत्रमा भए/गरेका कामका बारेमा चर्चा गरेका थिए । धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले आफ्नो कार्यकालमा गरेका कामको चर्चा गर्दै आफ्नो पालिकाको पूर्वाधार निर्माण, कृषि, पशुपालन, आन्तरिक पर्यटन र घरेलु उद्योगमा मुख्यरूपमा जोड दिएको बताउनुभयो । मितेरी सम्बन्धका बारेमा बोल्दै उहाँले भन्नुभयो– ‘शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटन जस्ता महत्वपूर्ण क्षेत्रमा हाम्रा सिकाइ अनुभवलाई आदान–प्रदान गर्न नै मितेरी सम्बन्धलाई कायम गरिएको हो ।’

त्यस्तै, बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश घर्ती मगरले आफ्नो मुख्य उद्देश्य अर्गानिक कृषि उत्पादन भएको बताउनुभयो । ‘आलु खेतीमा आत्मनिर्भर बनाएका छौं भने किवी खेती र जैविक बगैंचालाई जोड दिई रोजगारी सिर्जना तथा आन्तरिक आयमा वृद्धि गर्ने कार्यमा लागेको छु ।’ –उहाँले भन्नुभयो ।

‘बन्दीपुरको मुख्य उद्देश्य पर्यटकीय क्षेत्रको विस्तार, आन्तरिक पर्यटनको प्रवद्र्धन, कृषि पशुपालनमा जोड, बाख्रा पकेट क्षेत्रलगायत रहेको छ’, बन्दीपुर गाउँपालिकाका प्रमुख पूर्णसिंह थापा भन्नुहुन्छ– ‘बन्दीपुर दूधमा आत्मनिर्भर छ भने शिक्षामा गण्डकी प्रदेशकै उत्कृष्ट छ ।’मितेरी सम्बन्ध कायम गरेका गाउँपालिकाबीच गरेका अनुकरणीय कार्यहरु, भएका नमुना कामहरुको अनुभव आदान–प्रदान गर्नु मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्