हिमपात र चिसोले विकास निर्माणको काम ठप्प



लमजुङ ।

हिमालपारिको जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प भएको छ । निर्माणकार्य थालेका योजनाहरू पनि रोकिएका छन् । गत असार १ गतेको भीषण बाढी–पहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माणकार्य हिमपातका कारण सामान ढुवानी नहुँदा रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बतानुभयो ।

‘पहिले बाढी–पहिरोले सामग्री ढुवानी हुन नसक्दा निर्माणकार्य रोकिएयो, अहिले हिमपातले सवारीसाधन आवत–जावत हुन नसक्दा निर्माणकायो हुन सकेको छैन ।’ –उहाँको कथन छ । त्यस्तै, मौसमले साथ नदिँदा निर्माणकार्य पूरा हुन नसकेको मनाङको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले बताउनुहुन्छ ।

मंसिर तेस्रो साताबाट माथिल्लो मनाङमा हिमपात भएको थियो । उहाँका अनुसार हिमपातका कारण विकास निर्माणमा आवश्यक पर्ने सामग्री ल्याउन नसकिएको र ल्याएर राखिएका सामग्री पनि हिमपातले जमेर काम नलाग्ने भएको छ । हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ । यहाँ विगतका वर्षको तुलनामा यस वर्ष बाढी–पहिरोले भौतिक संरचनामा धरै क्षति पुर्याएको छ । बाढी–पहिरोले क्षति पुर्याएका भौतिक संरचना निर्माणको कामसमेत अलपत्र अवस्थामा रहेको अध्यक्ष घलेले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्