जातीय विभेदविरुद्वको प्रतियोगिताका लागि छानिए बीस लघु फिल्म



नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगितामा २० फिल्म छनोट भएका छन्। समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मूलनको उपायलाई कलात्मकरूपमा अभिव्यक्त गर्ने २० फिल्मलाई प्रारम्भिक चरणमा छनोट गरिएको हो।

निर्देशक समाज र यूनडीपीले जातप्रथा र यसको उन्मूलनका उपाय समेटिएका कथा तीन मिनेट भित्रमा प्रस्तुत गर्ने गरी केही समयअघि आह्वान गरेको थियो। कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह–सचिव फणिन्द्र गौतम, फिल्मकर्मी नीर शाह, आयोजक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र यूएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले प्राप्त फिल्मबाट २० फिल्म छनोट गरेका हुन्। पराजुलीका अनुसार प्राप्त ५६ फिल्मबाट २० फिल्म छनोट गरिएको हो।

प्रतियोगिताका लागि बालकृष्ण वंशीको पुमावाङगु म्हगास, हाफटाइम क्रिएसनको पीडा, रणधीर श्रेष्ठको परी, राजेश श्रेष्ठको नयाँ जुत्ता, सराना श्रेष्ठको सामना, अतीन श्रेष्ठको म स्वयं नेपाली, साफूको म म नै हुँ, आशिष शर्मा पंगेनीको क ख ग घ, छिन्न मस्ता फिल्म्स्को आई एम नट ह्युमन, नगेन्द्र राईको हि इज माई गड, मेरियन राजभण्डारीको गंगा, सन्तोष सरकारको फू, काव्यालय प्रडक्सनको चेत, वाशिष्ठ प्रधानको द बास्केट, सुरेन्द्र प्रजापतिको शून्य, सुदन सिंह ठकुरीको सेम, विनोद पुडासैनीको भगवान सबैको, प्रतीक सिंह एन्ड टिमको ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन, शर्मा क्रिएसनको अछोप, प्रकाश सुब्बाको फ्लावर छनौटमा परेका छन्।

छनौट भएका यी फिल्म अबको दुई हप्ता दर्शकको अवलोकनका लागि विभिन्न सामाजिक सञ्जालमा राखिने र फिल्मले पाउने दर्शक तथा प्रतिक्रिया एवम् निर्णायकको निर्णयका आधारमा विजेता फिल्मको घोषणा गरिने आयोजकले जनाएका छन्। दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत रहनेछ भने ५० प्रतिशत निर्णय निर्णायकको हात रहनेछ। प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैँयाँ प्राप्त गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्