आर्मी र एपीएफ टाइगरकप च्याम्पियन



पोखरा ।

विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले पोखरामा भएको दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा उपाधि जितेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो । एकपक्षीय खेलमा एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा हराउन सफल भयो । यससँगै एपीएफले लिग चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । एपीएफले लिग चरणमा ३–१ को सेटमा हार व्यहोरेको थियो । एपीएफले फाइनलमा आर्मीलाई कुनै पनि समय खुलेर खेल्नै दिएन ।

उता पुरुषतर्फको खेलमा आर्मीले टप हेल्प नेपालमाथि ३–१ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल रहयो । गतवर्ष उपविजेता बनेको आर्मीले हेल्प नेपाललाई २५–१८, २४–२६, २५–१८ र २५–१९ ले हराउँदै उपाधि जितेको हो । च्याम्पियन आर्मी र एपीएफले समान ३/३ लाख रुपैयाँ तथा उपविजेता हेल्प नेपाल र आर्मीले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । आर्मीले पनि लिग चरणमा भोगेको हारको बदला लिएको हो । आर्मीले लिग चरणमा ३–० को सोझो सेटमा हार बेहोरेको थियो ।

सरस्वती र धनबहादुर सर्वोत्कृष्ट
एपीएफकी सरस्वती चौधरी र आर्मीका धनबहादुर बुढा क्षेत्री दोस्रो टाइगरकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । उनीहरूले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै, प्रतियोगिताको महिलातर्फ उत्कृष्ट सर्भर एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट सेटर आर्मीकी कृपा अधिकारी, उत्कृष्ट ब्लकर एपीएफकी हिरा केसी, उत्कृष्ट लिब्रो न्यु डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट स्पाइकर आर्मीकी शान्ति कुमारी थारू र उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी घोषित भए ।

यस्तै, पुरुषतर्फ उत्कृष्ट सर्भर पुलिसका इम राना, उत्कृष्ट सेटर आर्मीका हरिहजुर थापा, उत्कृष्ट ब्लकर हेल्प नेपालका अमित गुलिया, उत्कृष्ट लिब्रो आर्मीका ईश्वर थापा, उत्कृष्ट स्पाइकर हेल्प नेपालका भिनित कुमार र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह घोषित भए । विधागततर्फका सबैले समान १०/१० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्