इन्डक्सन चुलो प्रदान गर्न मन्त्री भुसालको सुझाव



काठमाडौं (नेस) ।

श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका–१२ प्रयाग पोखरीमा रहेको सहकारीको साधारण सभा संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्वमा सम्पन्न भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

मन्त्री भुसालले संस्थाले गर्दै आइरहेको वित्तीय सेवाको सराहना गर्दै आउने दिनमा संस्थाले सदस्य र समाज उठानका लागि रचनात्मक कार्य गर्दै जान आग्रह गर्नुभयो । मन्त्री भुसालले आउने आर्थिक वर्षमा संस्थाले प्रत्येक सदस्यलाई लाभांशस्वरूप इन्डक्सन चुलो प्रदान गर्न सुझाव दिनुभयो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूसँग भएको पैसालाई घरमा नराखी लगानी वा वित्तीय संस्थामा राखी थप पैसा आर्जन गर्न सुझाव दिनुभयो ।

ज्यापु समाज यलका प्रथम उपाध्यक्ष सविना अवालेले कोरनाले थलिएको अर्थतन्त्रमा पनि संस्थाको सन्तुलित आर्थिक प्रतिवेदन प्रति सन्तोष व्यक्त गर्नुभयो । संस्थाका कार्यकारी अध्यक्ष महर्जन सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्