पूरा हुँदै १० वर्षको प्रतीक्षा



हेटौंडा ।

ठेक्का लागेको १० वर्ष नाघ्दा पनि नबनेको पूर्वी मकवानपुरको वागमतीबाट सिन्धुली जोड्ने वागमती पुल माघदेखि सञ्चालनमा आउने भएको छ । मंगलबार वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पुल निर्माणबारे चासो लिँदै अनुगमन गर्नुभएको थियो ।

मकवानपुर र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, हेटौंडा–सिन्धुली–चतरा राजमार्गका योजना प्रमुख र सडक विभागका अधिकारी तथा पत्रकारसहित टोलीको नेतृत्व गर्दै स्थलगत अनुगमन गर्न वागमती पुल पुग्नुभएका मुख्यमन्त्री पाण्डेले लामो समय निर्माणाधीन पुलको विषयमा जनताले गुनासो गरेजस्तै निर्माणाधीन पुलहरु सम्पन्न नभएको पाइएको बताउनुभयो ।

पाण्डेले पुल अनुगमन गर्दै ठेक्का पाएको स्वच्छन्द भैरव निर्माण सेवा कम्पनीलाई चाँडोभन्दा चाँडो काम सक्न निर्देशन दिनुभयो । ‘यहाँ हामी मन्त्रालयका सचिव, राजमार्गका योजना प्रमुखदेखि सडक विभागका प्रतिनिधि छौं । अब यस्तो सुस्तगतिमा काम गरेर हुँदैन’, मन्त्री पाण्डको निर्देशन दिँदै भन्नुभएको थियो– ‘छैटौंपटक म्याद थप भएको छ, कार्ययोजना बनाएर चैतभित्रमा काम सक्नूस् ।’

अनुगमन क्रममा पुल निर्माण कम्पनीका प्रमुख जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताउनुभयो । ‘यातायात सञ्चालनमा समस्या छैन । पुलमा सामान्य कालोपत्र र पुलस“गै केही ड्याक बनाउने काम चाँडै सकिने छ’, उहाँ भन्नुहुन्छ– ‘तीन वर्षसम्म अर्कै कम्पनीले काम गर्छु भनेर ढाँट्दा हामी समस्यामा पर्यौं । काम करिब–करिब सकिएको छ । पुल निर्माणका लागि फाउन्डेसन नै बदल्नु परेकाले निर्माणमा ढिलाइ भएको हो ।’

पुल निर्माणका लागि चैतसम्म समयसीमा थपिएको र काम सकेर वैशाख १५ गते पुल उद्घाटनका लागि हस्तान्तरण गर्न आफू तयार रहेको लामिछानेले बताउनुभयो । ठेक्का सम्झौता गरेको निर्माण सेवाले ५ वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी २१ करोड ४ लाख रुपियाँमा ठेक्का लिएको पुल लामो समय बित्दासमेत निर्माण सम्पन्न भएको छैन ।

माघ १२ गते हेटौंडामा हुने राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यले छोटो दुरीको बाटो हुँदै हेटौंडा आउन पाउने भएका छन् । पूर्वी मकवानपुरको वागमती र सिन्धुली जोड्ने पुल निरीक्षण क्रममा निर्माण कम्पनीले अब यातायात सञ्चालन हुने र हेटौंडा आउन सबभन्दा छोटो दुरीको मार्ग जोडिने जनाएको हो ।

‘दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरु सोही छोटो बाटो हुँदै माघ १२ गते हेटौंडामा हुने राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न आउन सक्छन्’, मुख्यमन्त्रीको प्रश्नमा लामिछानेले भन्नुभयो– ‘कालेपत्रेका लागि एक दिन पुल बन्द हुन सक्छ, नत्र यातायात रोकिन्न ।’

मदन भण्डारी राजमार्गअन्तर्गत वागमती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ । निर्माण कम्पनीले ३ वर्षभित्र काम सक्ने गरी २०६८ असार २९ गते सम्झौता गरेको थियो । पुल समयमा निर्माण नहुँदा वर्षाममा नदीमा आउने बाढीले मात्र नभएर हिउँदमा पनि सर्वसाधारण आवत–जावतमा समस्या भोग्दै आएका छन् ।

उक्त क्षेत्रमा सडकतर्फको काम करिब ९७ प्रतिशत पूरा भइसके पनि पुल अलपत्र पर्दा सिन्धुली र मकवानपुर जोडिन सकेको छैन । ‘राजमार्गको सडक बन्यो तर पुल बनेन । पुल नबनेकै कारण सडक भए पनि जोखिम मोलेर वागमती नदी तर्नुपर्ने बाध्यता थियो’, स्थानीय सुजन पाख्रिन भन्नुहुन्छ– ‘उक्त मार्ग हु“दै आवत–जावत गर्ने सवारीसाधन हिउँदमा जसोतसो खोलाबाट तर्छन् तर वर्षामा पारि जान सक्ने अवस्था हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्