निःशुल्क मिर्गौला परीक्षण गर्दै मन्थली



रामेछाप, (नेस) ।

रामेछापको मन्थली नगरपालिकाले ५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्न थालेको छ । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको मिर्गौला बचाउ अभियानको प्राविधिक सहयोगमा नगरपालिकाले मिर्गौला परीक्षण कार्यक्रम शुरू गरेको हो ।

नगरपालिकाले ‘स्वस्थ मिर्गौला–स्वस्थ मन्थली’ भन्ने मूल नाराका साथ नगरपालिकाभित्रका ६ वर्षमाथिका र ६० वर्ष उमेरसम्मका ५१ हजार नागरिकको निःशुल्करूपमा मिर्गौला परीक्षण गर्न थलेको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताउनुभयो । अभियानअन्तर्गत नगरपालिकाभित्रका १४ वटा वडाका ३१ स्थानमा परीक्षण भइरहेको छ । युरिन टेस्टमार्फत मिर्गौला परीक्षणको भइरहेको मिर्गौला बचाउ अभियानका अभियन्ता तथा मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताउनुभयो । हालसम्म १० हजार नागरिकले मिर्गौला परीक्षण गरेको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनुभयो ।

अभियान सञ्चालनका लागि मन्थली नगरपालिकाले चालू आर्थिक वर्षमा ५ लाख रुपियाँ विनियोजन गरेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेल बताउनुहुन्छ । यस रकमबाट अपुग भएमा अन्य शीर्षकबाट खर्च गरेर भए पनि सबै नागरिकको मिर्गौला परीक्षण गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्