कोरोनाले मेला–महोत्सव प्रभावित



लमजुङ ।

लमजुङमा माघमा हुने भनिएका दुईवटा सार्वजनिक कार्यक्रम तेस्रो चरणको कोरोना संक्रमितको संख्या बढेसँगै प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होसारको अवसरमा हुने भनिएको ल्होसार उत्सव र अन्तिम सातामा हुने भनिएको सातौं लमजुङ महोत्सव प्रभावित भएका हुन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संघीय सरकारसँगै गण्डकी प्रदेश सरकारले पनि मेला–महोत्सव, भेला र भीडभाड बढी हुने कार्यक्रम नगर्न आग्रह गरेपछि लमजुङमा माघको पहिलो साता र अन्तिम साता हुने भनिएका दुईवटा महोत्सव प्रभावित भएको हो ।

अघिल्लो हप्तामात्रै लमजुङ उद्योग वाणिज्य संघले लमजुङको बेंसीशहरमा माघको २१ देखि फागुन १ सम्म सातौं लमजुङ महोत्सव गर्ने निर्णय गरेको थियो । छोटो समयमा महोत्सव गर्ने निर्णय गरी तयारी शुरु गरे तापनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम बढेपछि महोत्सव स्थगित गर्नुपरेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताउनुभयो ।

सरकारले नै मेला–महोत्सव नगर्न निर्देशन दिएपछि महोत्सवको गर्नुको औचित्य नहुने भन्दै यसबारेमा औपचारिक निर्णय गर्न बाँकी रहेको उहाँको भनाइ छ । संघका पदाधिकारीसहित अन्य सरोकारवालासँग छलफल गरी महोत्सव कहिले गर्ने भन्ने विषयमा निर्णय गरिने अध्यक्ष सिलवाल बताउनुहुन्छ ।

त्यसै गरी, नेपाल तामाङ सांस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङले पनि तामाङ समुदायको नयाँ वर्ष २८५८औं सोनाम ल्होछारको अवसरमा लमजुङमा सांस्कृतिक उत्सव गर्न लागेको थियो । आयोजक समितिले अघिल्लो सातामात्रै सदरमुकाम बेंसीशहरमा पत्रकार सम्मेलन गरी माघ ८ गते सांस्कृतिक उत्सवका हुने जनाएको थियो । तर, पछिल्लो समय मुलुकको परिस्थिति परिवर्तन भएसँगै बृहत् सांस्कृतिक कार्यक्रम प्रभावित हुने भएको हो ।

गएको केही वर्षबाट तामाङ समुदायले सांस्कृतिक पर्व ल्होसारको अवसरमा मेला–महोत्सव गर्न थाले पनि गतवर्ष कोरोनाकै कारण कुनै औपचारिक कार्यक्रम भएको थिएन । यस वर्ष पनि मेला–महोत्सव नहुने भएपछि तामाङ समुदायले परम्परागत रूपमा परिवारभित्रै ल्होसार मनाउने नेपाल तामाङ सांस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष विकास तामाङले बताउनुभयो ।

संघीय सरकार र प्रदेश सरकारले संक्रमणकालीन अवस्थामा मेला–महोत्सव नगर्न आग्रह गरिएको जिल्लास्थित कोभिड संकट व्यवस्थापन कमिटि (डीसीसीएमसी) संयोजक एवं लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । संक्रमण जोखिमबाट नागरिकलाई बचाउन यस्तो निर्याय गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्