सञ्जु र जुनुमायाको नयाँ कीर्तिमान



काठमाडौं ।

बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता–२०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् ।

१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जुले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १ सय ७१ केजी तौलमा सुधार गरेकी हुन् । उनले स्नाचमा ७८ केजी, क्लिन एन्ड जर्कमा ९८ केजीसहित कुलमा १ सय ७६ केजी तौल उठाउँदै नयाँ कीर्तिमान राखिन् । उनले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकीमा दोश्रोमा ७५ केजी तौल भार बहन गर्दै कीर्तिमानमा सुधार गरेकी थिइन् ।

सञ्जुले तेश्रो प्रयासमा ७८ केजीका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् । यस्तै, क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार बहन गरेकी उनले दोश्रो प्रयासमा ९८ केजी भार बहन गर्न असमर्थ भइन् । तर, तेश्रो प्रयासमा ९८ केजी तौललाई सहजताका साथ बहन गर्दै कुलमा १ सय ७६ केजी भारका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् । ५९ केजी तौलको दोश्रो स्थान प्राप्त गरेकी नेपाली सेनाकी प्रशंसा पुनले स्नाचमा ४८ केजी, क्लिनमा ५७ केजी गरी कुल १ सय ५ केजी भार बहन गरिन् । यस्तै सशस्त्र प्रहरी बलकी सरिता लामाले स्नाचमा ४३ केजी, क्लिनमा ५४ केजीका साथ कुल ९७ केजी भार बहन गरिन् ।

यस्तै, ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमानमा आफ्नो नाम लेखाइन् । उनले स्नाचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८८ केजीका साथ कुल १ सय ५६ केजी भार बहन गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । यसअघि यस तौल समूहको कीर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले तेश्रो सुनील लाल स्मृति भारोत्तोलन प्रतियोगितामा स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १ सय ५४ केजीको कीर्तिमान राखेकी थिइन् ।

दोश्रो स्थानमा सशस्त्र प्रहरी बलकी सरस्वती गुरुङ्ग रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिनमा ६९ केजी गरी कुल १ सय २७ केजी भार बहन गरिन् । यस्तै, तेश्रो स्थानमा रहेकी सशस्त्र प्रहरीकै अञ्जली श्रेष्ठले कुल १ सय ८ केजी भार बहन गरिन् । उनले स्नाचमा ४८ केजी र क्लिनमा ६० केजी भार बहन गरेकी हुन् । नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथतर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एन्ड जर्कमा ६० केजीका साथ कुलमा १ सय ६ केजी भारका साथ स्वर्ण हात पारिन् । महिला ५५ केजी तौलको युथमा सप्तरीकी पूजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरी कुलमा ९६ केजी भारका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थानमा रहेकी बर्दियाकी सामना थारूले स्नाचमा ३५ केजी, क्लिनमा ३८ केजी गरी कुल ७३ केजी भार बहन गरिन् । यस्तै, तेश्रो स्थान प्राप्त गरेकी सप्तरीकी सन्तोशी यादवले स्नाचमा ३० केजी, क्लिनमा ४० केजीका साथ कुलमा ७० केजी भार बहन गरिन् ।

महिलाको ५५ केजीकै सिनियरतर्फ नेपाली सेनाका खेलाडीहरूले वर्चस्व राखे । सेनाकी प्रभा थारूले स्वर्ण, सिर्जना तामाङ्गले रजत र अस्मिता पुलामीले कांस्य हात पारे । प्रभाले स्नाचमा ५२, क्लिनमा ६८ गरी कुल १ सय २० केजी भार उठाइन् । सिर्जनाले स्नाचमा ४४, क्लिनमा ५१ गरी कुलमा ९५ केजी र अस्मिताले स्नाचमा ४०, क्लिनमा ५५ गरी कुलमा ९५ केजीका साथै प्राविधिक आधारमा तृतीय स्थानमा आइन् । प्राविधिक सञ्जय महर्जनका अनुसार समान तौल बहन भएता पनि जसले पहिले तौल बहन गर्छ उसलाई पहिलो प्राथमिकता प्राप्त हुने नियम रहेका कारण समान तौल भएता पनि सिर्जनाले दोश्रो स्थान प्राप्त गरेकी हुन् ।

महिलाको ६४ केजी तौल समूहको सिनियरतर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ८० केजी गरि कुल १ सय ४७ केजी तौल उचालिन् । दोश्रो स्थानमा रहेकी प्रहरीकी देवी चौधरीले स्नाचमा ६४, क्लिनमा ७७ सहित कुल १ सय ४१ केजी भार उचालिन् । प्रहरीकै पूजा कुमाल तेश्रो भइन् । उनले स्नाचमा ५० केजी, क्लिनमा ६७ केजीसहित कुल १ सय १७ केजी भार उचालिन् ।

पुरुष ७३ केजी तौलको सिनियरतर्फ सेनाका जीवन तामाङ्गले स्वर्ण हात पारे । उनले स्नाचमा ८६ केजी र क्लिनमा १ सय १३ गरी कुलमा १ सय ९९ केजीका साथ स्वर्ण हात पारेका हुन् । दोश्रो स्थानमा रहेका सशस्त्र प्रहरीका राहुल कुमार दासले स्नाचमा ८२ क्लिनमा १ सय २ केजीका साथ कुल १ सय ८४ केजी भार बहन गरे । तेश्रो स्थानका कास्कीका धनबहादुर झाँक्री मगरले स्नाचमा ८५ र क्लिनमा ९८ केजी गरी कुल १ सय ८३ केजी भार बहन गरे ।

प्रतिक्रिया दिनुहोस्