पुलिसको लगातार दोस्रो जित



काठमाडौं ।

जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । सोमबार त्रिवि मैदानमा भएको दुई विभागीय टिमको प्रतिस्पर्धामा पुलिसले बाजी मारेको हो । पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराएको थियो । पुलिसको प्रतियोगितामा लगातार दुई खेलमा जित हो भने आर्मीको पहिलो हार हो । अघिल्ला दिन दुवै विभागीय टिमले जित हासिल गरेका थिए ।

आर्मीले पहिले ब्याटिङ गर्दै १ सय ३८ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा पुलिसले ६ विकेटको क्षतिमा १२ बल बाँकी राखी १ सय ४१ रन बनाएर लक्ष्य पूरा गरेको थियो । पुलिसलाई जित दिलाउन ओपनर कुशल भुर्तेलले ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन योगदान दिए । शंकर राना र दीपेन्द्रसिंह ऐरी ४/४ रन बनाएर आउट भएपछि कुशलले टिमको स्कोर ७१ सम्म पुर्याएका थिए । उनलाई अनिल साह (२२ रन) र आरिफ शेख (१० रन) ले राम्रो साथ दिएका थिए । उनी शाहब आलमको बलमा आउट भएपछि पनि अरू ब्याटसम्यानले राम्रो ब्याटिङ प्रस्तुत गरे ।

दिलिप नाथ र रसिद खानले छैटो विकेटका लागि ५४ रनको साझेदारी गर्नु नै पुलिसको जित सुनिश्चित भएको थियो । रसिद २८ रन बनाएर आउट भए भने दिलीप २५ रनमा नटआउट रहे । त्यस्तै, योगेन्द्रसिंह कार्की ९ रनमा नटआउट रहेका थिए । आर्मीका बलरमा शाहबले सर्वाधिक ३ विकेट लिएका थिए । यसअघि, आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन जोडेको थियो । टिमका लागि ओपनरमा आएका सोमपाल कामीले ६ चौकाको सहयोगमा ४२ रन जोडे । यस्तै, कप्तान विनोद भण्डारीले ३ छक्का र ३ चौका प्रहार गर्दै ४४ रनको योगदान दिए । यी दुई ब्याटसम्यानको सहयोगमा आर्मीले १ सय रन कटाउन पाएको थियो । अन्यथा बाँकी ब्याटसम्यानले निराशाजनक ब्याटिङ गरेका थिए । पुलिसका बलरमा करण केसीले सर्वाधिक ४ विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्