किइजालाई गम्भीर चोट



1237627987

रोम, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका युवा स्टार फेड्रिको किइजालाई गम्भीर चोट लागेको छ । शनिबार राति सिरी ए लिगमा रोमाविरुद्ध भएको खेलमा किइजा पहिलो हाफमा गम्भीर चोट बोक्दै मैदान बाहिएिका थिए । खेलको ३१औं मिनेटमा खराब ट्याकलमा परेपछि उनले ३२औं मिनेटमा मैदान छाडेका थिए । उनको परीक्षणपछि युभेन्ट्सले किइजाको घुँडाको अप्रेसन गर्नुपर्ने बताएको छ । किइजा चोट अब युभेन्ट्सका लागि महँगो सावित हुन सक्नेछ । घुँडामा गम्भीर चोट परेपछि उनले यो सिजनका बाँकी सबै खेल गुमाउने पक्का भएको छ । युभेन्ट्सले अफिसियल रूपमा किइजाको चोटबारे जानकारी दिँदै उनको अप्रेसन हुने बताएको छ । किइजाको देब्रे घुँडामा चोट लागेको हो ।

उनको चोट गम्भीर रहेकाले अप्रेसन नै गर्नुपर्ने बताइएको छ । अप्रेसनपछि किइजा आगामी सेप्टेम्बर महिनासम्म अर्थात् करिब ९ महिना मैदान बाहिर रहनेछन् । इटालीको राष्ट्रिय टोलीका २४ वर्षका प्लेमकेरलाई अब यो सिजन मैदानमा देख्न पाइनेछैन । उनले यो सिजनका सम्पूर्ण खेल गुमाउनेछन् । युभेन्ट्सको फ्रन्ट लाइनमा किइजा एक प्रमुख खेलाडी थिए । उनी गत सिजनबाटै निकै शानदार लयमा खेलिरहेका थिए । उनले टिमका लागि गोल र असिस्ट पनि प्रशस्तै गर्दै आएका थिए ।

जारी सिजन किइजाले १८ खेलबाट चार गोल र तीन गोलमा असिस्ट गरेका छन् । उनले सिरी ए लिगमा १४ खेलबाट दुई गोल र दुई गोलमा असिस्ट गर्दा च्याम्पियन्स लिगमा चार खेलबाट दुई गोल र एक गोलमा असिस्ट गरेका छन् । सिरी ए लिगकै क्लब फियोरेन्टिनाबाट युभेन्ट्समा लोनमा पुगेका उनले हालसम्म युभेन्टसका ६१ खेलबाट १८ गोल गर्दै १७ गोलमा असिस्ट गरेका छन् । यो सिजन उनको टिम घरेलु लिगमा कठिनाइमा रहेका बेला एक प्रमुख खेलाडीले गम्भीर चोट बोकेपछि युभेन्ट्सलाई उनको ठूलो अभाव खड्किने पक्का छ ।

यसको अर्थ किइजाले कतार विश्वकप छनोटमा पोर्चुगलविरुद्ध हुने प्लेअफ खेल भने गुमाउने पक्का भएको छ । युरोपमा प्लेअफ खेलहरू आगामी मार्च महिनामा हुने तालिका रहेको छ । यदि, इटाली र पोर्चुगलले प्लेअफ्मा सेमिफाइनल खेल जिते फाइनलमा उनीहरूले एकअर्काको सामना गर्नुपर्नेछ । इटाली र पोर्चुगलमध्ये एक टिम कतार विश्वकपमा छनोट हुनेछैन । यदि इटाली छनोट भएमा भने उनी यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा इटालीबाट खेल्नका लागि उनी भने तयार हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्