चौथो एसेसमा इंग्ल्याण्डको रोमाञ्चक बराबरी



न्युज अफ नेपाल, काठमाडौं ।

अन्तिम दिन अष्ट्रेलियाले एक विकेट लिन नसक्दा एसेस शृंखलाअन्तर्गत इंग्ल्याण्डविरुद्धको चोथो टेष्ट बराबरीमा टुंग्याएको छ ।

सिड्नीमा ३८८ रनको विजयी लक्ष्य पाएको भ्रमण टोली इंग्ल्याण्डले दिनको समाप्तिमा नौ विकेट गुमाउँदै २७० रन बनाएसँगै खेल बराबरीमा सकिएको हो ।स्टुआर्ट ब्रोअड र जेम्स एन्डर्सनले धैर्यतासाथ खेलेपछि अष्ट्रेलियाले शृंखला ४-० को बनाउने मौका गुमायो । यद्यपि, पाँच टेष्ट शृंखला घरेलु टोली अष्ट्रेलियाले ३-० ले आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

अन्तिम दिन इंग्ल्याण्डका ज्याक क्राओलीले ७७ रन बनाउँदा बेन स्टोक्सले ६० रन बनाए । अष्ट्रेलियाका स्कट बोलान्डले सर्वाधिक तीन विकेट लिए ।यसअघि ब्याटर उसमान खवाजाले शतकीय इनिङ्ससहित १३७ रन बनाएपछि आठ विकेट गुमाउँदै ४१६ रन बनाएको अष्ट्रेलियाले पहिलो इनिङ्स समाप्ति घोषणा गरेको थियो । इंग्ल्याण्डका स्टुआर्ड ब्रोअडले सर्वाधिक पाँच विकेट लिएका थिए ।

जोनी बेयरस्टोले शतकीय इनिङ्स खेले पनि इंग्ल्याण्ड २९४ रनमा अल आउट भयो । अष्ट्रेलियाको स्कट बोलान्डले चार विकेट लिए ।दोस्रो इनिङ्समा समेत खवाजाले १०१ रन बनाएपछि अष्ट्रेलियाले पुनः ६ विकेटको क्षतिमा २६५ रन बनाउँदै इनिङ्स छाड्यो ।यसपछि ३८८ रनको विजयी लक्ष्य पाएको इंग्ल्याण्ड अन्तिम दिनसम्म ब्याटिङका उत्कृष्ट प्रदर्शन गर्दै खेल बराबरी गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्