कञ्चनपुरलाई पीएम कप छनोटको उपाधि



बैतडी ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३८ रनले स्तब्ध पार्दै कञ्चनपुरले उपाधि हात पारेको हो । कञ्चनपुरले १ सय ९६ रनको विजयी लक्ष्य दिएकोमा बैतडी टिम १ सय ५७ रनमा अलआउट हुँदै पराजित भयो ।

बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन बनाएका थिए । अन्य ब्याटसम्यान जम्न सकेनन् । बैतडीको ब्याटिङ ध्वस्त पार्न कञ्चनपुरका आदित्य महताले सर्वाधिक ३ विकेट लिए । यस्तै, अर्जुन साउँद र प्रकाश विष्टले २/२ विकेट हात पारेका थिए ।

यसअघि, कभर्डहल मैदानमा पहिला ब्याटिंग गरेको कञ्चनपुरले निर्धारित ४० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९५ रन जोडेको थियो । जसमा अनुराग सिंहले सर्वाधिक ४७ रन जोड्दा हेमन्त धामीले ४२ रन बनाएका थिए । बैतडीको बलिङमा जगदीश चन्दले सर्वाधिक ३ विकेट हासिल गरेका थिए । कञ्चनपुरका आदित्य महता ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।

पुस १४ गतेदेखि शुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा यहाँका ८ जिल्लाका टोलीको सहभागिता रहेको थियो । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनोट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्