भ्याली पब्लिकमा बास्केटबलमा ८ टिम



काठमाडौं ।

भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबारदेखि शुरू हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा जेभियर इन्टरनेसनल कलेज, टाइम्स कलेज, हेराल्ड इन्टरनेसनल कलेज र साइपाल एकेडेमी तथा समूह ‘बी’ मा भ्याली पब्लिक कलेज, अक्सब्रिज इन्टरनेसनल कलेज, ट्रिनिटी इन्टरनेसनल कलेज र एन्जल्स हर्ट कलेज रहेका छन् । समूहको शीर्ष २ टोली सोझै सेमिफाइनलमा पुग्ने छन् ।

पत्रकार सम्मेलनमा भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वमेजर लीलबहादुर गुरुङले कोभिड–१९ का कारण लामो समयसम्म सुस्ताएको विद्यालय खेलकुद गतिविधिलाई प्रतियोगिताले केही हदसम्म भए पनि खेलाडीलाई चलायमान बनाउन मद्दत पुग्ने धारणा व्यक्त गरे । आयोजक भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारीले प्रतियोगिताले प्रतिभावान् खेलाडीको पहिचान गर्न सहयोग पुग्ने बताउँदै आफ्नो टिमको लक्ष्य उपाधि नै रहेको बताए ।

प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले विगतमा भ्याली पब्लिकले विद्यालयस्तरीय बास्केटबल आयोजना गर्दै आएकोमा प्लस टुमा पनि अध्ययन शुरू भएकाले पहिलोपटक कलेजस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले विद्यालयस्तरीय बास्केटबललाई पनि निरन्तरता दिने बताए । पुस २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको आफ्नै कोर्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्