इलाममा एन्फा जिल्ला लिग



इलाम ।

जिल्ला फुटबल संघ इलाममा जिल्लाभरका १३ वटा फुटबल क्लब आबद्ध छन् । जिल्लामा फुटबल क्लबको ग्रेडिङ हालसम्म भएको छैन । तर यसबर्षबाट इलाम जिल्लामा रहेका फुटबल क्लबको ग्रेडिङ हुने भएको छ । जिल्ला फुटबल संघ इलामले नै ग्रेडिङ गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार इलाममा बुधबार (पुष २१) गतेबाट इलाममा एन्फा जिल्ला लिग प्रतियोगिता हुँदैछ । यही लिगबाट इलामका फुटबल क्लबको ग्रेडिङ हुनेछ ।

जिल्ला लिगबाट अंक तालिकाका पुछार (रेलिगेसन) मा पर्ने दुईवटा क्लब ‘बी’ डिभिजनमा घटुवा हुने जिल्ला फुटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले बताए । संघमा हालसम्म दर्ता भएका १३ वटा क्लबलाई नै ‘ए’ गेडिङमा राखिएको छ । यो वर्षबाट मात्रै जिल्ला जिल्लामा क्लबको ग्रेड निर्धारण गर्न संघ लागेको हो । जिल्ला लिगमा खेल्ने १३ वटा टिमलाई ‘ए’ र ‘बी’ पोलमा विभाजन गरीएको छ । ‘ए’ पोलमा ६ वटा क्लबहरू रहेका छन् ।

संघका जिल्ला अध्यक्ष महेश श्रेष्ठका अनुसार ‘ए’ पोलमा निहारिका स्पोटिङ क्लब, एमसी पान्दाम, दीपेन्द्र शिखर हर्कटे, फ्रेन्डस् क्लब गोदक, मिलेनियम फ्रेण्डस क्लब र पूर्वक्षितिज क्लब कट्टेबुङ रहेको छ । यस्तै, ‘बी’ पोलमा रेडहर्ष फुटबल क्बल इलाम, हेल्लो जसबीरे एफसी, हेलिबोथ एफसी बिब्ल्याँटे, क्लब ओएसिस एफसी इलाम, देउराली स्पोटिङ्ग क्लब देउराली, माइभ्याली एफसी इलाम र त्रिवेणी युथ क्लब इलाम रहेको छ । यसरी दुई समूहमा रहेका क्लबहरूमध्ये ‘ए’ र ‘बी’ समूहबाट उत्कृष्ट २/२ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

फाइनल जित्ने टिम जिल्ला लिगबाट छनोट भएर प्रदेश लिगमा सहभागिता जनाउने अध्यक्ष श्रेष्ठको भनाई छ । लिगमा जम्मा ३६ वटा खेल हुनेछ । यता जिल्ला लिग सम्पन्न गर्नका लागि एन्फाले जिल्ला फुटबल संघलाई पाँचलाख रुपैंयाँ उपलब्ध गराएको छ । एन्फाबाट प्राप्त रकमले मात्र जिल्ला लिग सम्पन्न गर्न कठिनाइ हुने भएपछि इलामनगरपालिका सहित जिल्लास्थित विभिन्न संघसंस्था, व्यक्तिहरूबाट आर्थिक सहयोग मागिएको संघले जनाएको छ । साथै, टुबोर्गले पनि सहयोग गर्ने भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्