दीक्षा र स्यान्टु श्रेष्ठले जिते स्वर्ण



काठमाडौं ।

नेपाल एपीएफ क्लबका दीक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् । दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४ –२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार र रविनाले २० हजार प्राप्त गरे । तेश्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मञ्जु सुवालले नगद १०/१० हजार प्राप्त गरे ।

युथ अफ तुलसीपुर, दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गरे । उनले नगद ४० हजार र विनेशले नगद २० हजार प्राप्त गरे । यस्तै, तेश्रो स्थानमा रहेका सेनाका दीप साउन र एपीएफका संयोगक कपालीले नगद १०/१० हजार प्राप्त गरे ।

पौष १६ देखि १८ गते सम्म सञ्चालन भएको प्रतियोगितामा महिला टिम इभेन्ट्समा नेपाली सेनाले जित निकाल्यो । सेनाले एपीएफलाई ३–२ को जित निकाल्दै उपाधि उचालेको हो । विजयी सेनाले नगद ३० हजार र उपविजयी टिम एपीएफले नगद २० हजार र तृतीय स्थान प्राप्त गर्ने पुलिसले नगद ५ हजार हासिल गरे ।

पुरुष टिमतर्फ पुलिस पहिलो, सेना दोश्रो र एपीएफ तेश्रो भए । पुलिसले नगद ३० हजार, सेनाले नगद २० हजार र तेश्रो स्थानमा रहेको एपीएफले नगद ५ हजार प्राप्त गरे । विजयी खेलाडीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्